दक्षिण अफ्रिकाका रंगभेद विरोधी नेता डेसमण्ड टुटुको निधनमा प्रा. सुवेदीद्वारा दुख व्यक्त

0

लण्डन : बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्य सुवेदीले  दक्षिण अफ्रिकाका रंगभेद विरोधी नेता तथा विश्व मानवतावादी अभियन्ता डेसमण्ड टुटुको निधनमा गहिरो दु:ख व्यक्त गरेका छन् ।

एक वक्तव्य प्रकाशित गर्दै प्रा. सुवेदीले टुटुको निधनले संसारले एकजना महान विचारक र अभियन्ता गुमाएको बताए।

नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटुको ९० वर्षको उमेरमा केप टाउनमा आइतबार निधन भएको हो । दक्षिण अफ्रिकाको रंगभेद विरोधी अभियन्ता टुटुले किङ्स कलेज, लन्डनमा अध्ययन गरेका थिए ।

बेलायतको हल विश्वविद्यालयमा प्राध्यापक भइ काम गर्दा डेसमण्ड टुटुको उक्त विश्वविद्यालयमा भएको भ्रमणको आयोजना गर्न आफुले भूमिका निर्वाह गरेको प्रा. सुवेदीले स्मरण गरे ।

हल विश्वविद्यालयमा टुटुले ३-४ पटक प्रवचन दिंदा त्यसले आफ्ना विद्यार्थीहरू, आफु र अन्य प्राध्यापकलाई गहिरो छाप परेको सुवेदीले बताए ।

टुटुको एउटा प्रवचनमा त आफ्नो परिवार नै लगेको र आफ्ना छोराछोरीलाई त्यो प्रवचनले धेरै प्रेरणा दिएको पनि सुवेदीले स्मरण गरे।

दासत्व प्रथा संसारभर उन्मूलन गर्ने अभियानको नेतृत्व गरेका विलियम विल्बर्फोर्सको सम्मान र सम्झनामा हल विश्वविद्यालयमा परम्परागत र आधुनिक प्रकारका दासत्व उन्मूलन सम्बन्धि अध्ययन र अनुसन्धानका लागि एक विशेष संस्था स्थापना गरिएको छ । सो संस्थाले संसारभरबाट प्रतिष्ठित विचारक र अभियन्ताहरुलाई प्रवचनका लागि आमन्त्रण गर्ने गर्दछ।

दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न प्रमुख भूमिका खेलेका  डेसमण्ड टुटुलाई उक्त संस्थाले विशिष्ट वक्ताको रुपमा आमन्त्रण गरेको थियो। 

‘मुक्ति र न्यायका लागि संघर्ष’

पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले टुटुले आफ्नो मुलुकमा मुक्ति र न्यायका लागि संघर्ष गरे पनि संसारभरि जहाँ कहीं पनि भएको अन्यायप्रति उनले चासो राख्ने गरेको बताए। 

त्यस्तै दक्षिण अफ्रिकी राष्ट्रपति सिरील रामाफोसाले एक विज्ञप्ति प्रकाशित गर्दै  डेसमण्ड टुटुको निधन “उत्कृष्ट दक्षिण अफ्रिकीहरूको एक पुस्ताको बिदाइको एक अध्याय” भएको बताएका छन्।

उनले स्वतन्त्र दक्षिण अफ्रिका प्राप्तिका लागि टुटुको योगदान महत्वपूर्ण रहेको बताए।

Leave A Reply

Your email address will not be published.