राष्ट्रियताको सवालमा सबै राजनीतिक दल एकै ठाउँ उभिन जरुरी : एमाले महासचिव पोखरेल

0

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको मामिलामा सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिनु जरुरी रहेको बताएका छन् ।

आइतबार नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै महासचिव पोखरेलले नेपालका राजनीतिक दलहरु राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र राष्ट्रिय स्वाभिमानको मामिलामा एकै ठाउँमा उभिनु जरुरी रहेको बताएका हुन् । 

उनले नेपालको परराष्ट्र नीति राष्ट्रिय स्वार्थको आधारमा बन्नुपर्ने बताए । राष्ट्रियताको विषयमा राजनीतिक दलहरु विभाजित भएमा विदेशी शक्तिहरु नेपालको राजनीतिमा खेल्ने उनले उल्लेख गरे ।

महासचिव पोखरेलले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एउटै म्याण्डेडको आधारमा जनादेश प्राप्त गरेपनि जनादेशको रक्षा गर्न नसकी जनादेश खण्डित भएको बताए । 

जनादेश खण्डित भएको अवस्थामा ताजा जनादेशमा जानुपर्ने भन्दै उनले एमालेले जनादेशमा जाने कुरा गर्दा प्रतिगमनको लेपन लगाइएको बताए । जनतामा जानेकुरा प्रतिगमन नभएको उनले प्रष्ट पारे ।

उनले नेपालका राजनीतिक दलहरु अधिकारको सम्बन्धमा मिल्ने गरेको भएपनि देशको आर्थिक, सामाजिक मुद्धामा भने मिल्न नसकेको बताए । अब सबै राजनीतिक दलहरु आर्थिक, सामाजिक मुद्धामा केन्द्रीत हुनुपर्ने उनले बताए । 

Leave A Reply

Your email address will not be published.