नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन आजदेखि शुरु हुँदै

0

काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आइतबारदेखि काठमाडौंमा शुरु हुँदैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशनको उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

तीन दिनसम्म चल्ने महाधिवेशनमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्तावेज पेश हुनेछन् । ती प्रतिवेदनमाथि विभिन्न २० वटा समूह बनाएर छलफल गर्ने कार्यक्रम तय भएको छ ।

माओवादीले प्रज्ञा प्रतिष्ठानका सबै हल र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सामूहिक छलफलको व्यवस्था मिलाएको छ । उदघाटनसत्र सकिएलगत्तै राजनीतिक प्रतिवेदन, विधानमाथि छलफल शुरु हुनेछ । त्यस्तै नेतृत्व चयनको कार्यक्रम समेत रहेको छ ।

सम्मेलनमा कूल एक हजार ६ सय ३१ प्रतिनिधि सहभागी हुनेछन् । नियमित प्रक्रियाबाट छानिएका एक हजार ४ सय ८३ र मनोनीत १ सय ४८ गरी कूल एक हजार ६ सय ३१ सहभागी हुने भएका हुन् ।

महाधिवेशनमा सहभागी हुनका लागि देशभरका सात वटै प्रदेश र तीन वटा गैरभौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण काठमाडौँमा आइसकेका छन् । माओवादीले सहभागीलाई आफै खाने बस्ने प्रबन्ध गर्न भनेको छ ।

माओवादीले यस पटक निर्वाचन प्रक्रियाका माध्यमबाट नेतृत्व चयन गर्ने बताएको छ । अध्यक्षमा पुष्पकमल दाहाल दोहोरिने लगभग निश्चित छ ।

पदाधिकारी १५ सदस्यीय बनाउने निर्णय माओवादी स्थायी समितिले यसअघि नै गरिसकेको छ ।

माओवादीले नेतृत्वमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित, पाँच प्रतिशत मुस्लिमको प्रतिनिधित्व गराउने व्यवस्था गरेको छ ।

Leave A Reply

Your email address will not be published.