नेपाली जन प्रगतिशिल मोर्चा पोर्तुगलको साधारण सभामा नेकपा महासचिब बिप्लबको सम्बोधन, “संसदीय पूँजीवादी ब्यबस्थामा देशको बिकास सम्भब छैन”

0

कम्युनिस्ट नेता माओत्सेतुङको १२९ औं जन्म जयन्तीको अबसर पारेर नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलले वार्षिक साधारण सभा सम्पन्न गरेकोछ । कोरोनाको पांचौ लहरका कारण जनप्रगतिशील मोर्चा पोर्चुगलका नेतृत्व र लिस्वनस्थित नेपालीहरुको भौतिक उपस्थिती र अन्य सबै सहभागीको भर्चुअल उपस्थितिमा साधारणसभा सम्पन्न भएको हो ।

उक्त सभालाई कार्यक्रमका प्रमुख अतिथी नेकपाका महासचिव विप्लवले सम्वोधन गर्दै भन्नु भयो, ‘नेपालमा दलाल पुंजीवादी संसदिय व्यवस्थाले सर्वत्र रुपमा संकट खडा गरेको छ र राष्ट्रियता, जनतन्त्र र जनजिविकामा देखिएका समस्या सामाजिक भेदभाव, भ्रष्टाचार र अन्य विकृतिहरुलाई अहिलेको व्यवस्थाले हल गर्न सक्दैन । अन्य सबै दलले नयां कुरा गर्छौ भने पनि सारमा उनीहरु संग नयां केहि छैन । त्यसैले हाम्रो पार्टीले वैज्ञानिक समाजवादको अवधारणा अगाडि सारेकोछ । हाम्रो देशको लागि अहिले सबैभन्दा उत्तम व्यवस्था यो नै हो । अहिले नेपाली युवायुवतीहरु विदेशी बजारमा श्रम बेच्न बाध्य छन् । धेरै दुख कष्ट सहन परेको छ । यसरी विदेशिने क्रम देश स्वाधिन र सम्पन्न भएपछि मात्र रोकिन्छ । त्यसको लागि तपाईहरु पनि अभियानमा लाग्नु पर्छ, भूमिका निर्वाह गर्नु पर्छ । त्यहि अभियानको रुपमा हाम्रो पार्टीले यो साधरण सभालाई बुझेको छ ।’

उक्त सभालाई सम्बोधन गर्दै नेकपाका सचिवालय सदस्य तथा अन्तरराष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र बास्तोलाले विगतमा नेपालको सामन्तवादी राजतन्त्रको अन्त्यको लागि तपाइहरुले ठुलो भुमिका खेल्नु भएको थियो । नेपालको महान जनयुद्धले उठाएको नयां जनवादी व्यवस्था स्थापन गर्दै वैज्ञानिक समाजवादमा जाने वाटोमा विविध बाधा आएपनि अहिले हाम्रो पार्टीले वैज्ञानिक समाजवादको लागि अभियान चलाइरहेको छ । त्यसको लागि फेरी तपाइहरुको भूमिका महत्वपुर्ण हुन्छ, भन्नुभयो ।

फ्रान्सका लागि नेपाली राजदूत दिपक अधिकारीले साधरण सभामा शुभकामना व्यक्त गर्दै नेपाली जनप्रगतिशील मोर्चाले राम्रा र जनमुखी काम गरिरहेको जानकारी आफुलाई रहेको र दुतावासले त्यहांको विशिष्टतामा के कस्तो सहयोग गर्नपर्ने हुन्छ हामी सहकार्य गरेर सामाधान गर्ने तर्फ अगाडि बढौला भन्नुभयो ।

उक्त सभामा नेजप्रमो युरोपका अध्यक्ष विष्णु भुजेल, मोर्चा मध्यपूर्व अधिवेशन आयोजक समितिका संयोजक रमेश गिरी, मोर्चा अमेरिकाका अध्यक्ष विश्व शाह , प्रवासी नेपाली एकता मन्च पोर्तुगलका अध्यक्ष मदन लिम्वु, नेपाली समाज पोर्चुगलका महासचिव इ्रश्वर पाण्डे, जनजाति महासंघ पोर्चुगलका अध्यक्ष हेम गुरुङ्, महिला समाज पोर्चुगलकी अध्यक्ष माया पौडेल खनाल, मोर्चा मलेशियाका सल्लाहकार बिस्फोट मगर र जापानका अध्यक्ष निराजन गैरेले शुभकामना मन्तव्य दिनु भएको थियो ।

मोर्चाका अध्यक्ष पूर्ण विकको अध्यक्षतामा सम्पन्न साधारण सभामा भौतिक तथा भर्चुअल रुपमा उपस्थित सबैलाई मोर्चाका उपाध्यक्ष टंक खड्काले स्वागत गर्नु भएको थियो भने सन्चालन महासचिव प्रदिप अधिकारीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.