नेपालमा पनि नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम : स्वास्थ्य मन्त्रालय

0

काठमाडौं : पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न नागरिकलाई आग्रह गरेको छ ।

नेपालमा ओमिक्रोन भेरियन्ट फैलिन रोक्न सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँचमा कडाइ गर्न थालेको छ । स्वास्थ्य मन्त्रालयले दक्षिण अफ्रिका क्षेत्र भएर आउने हवाई यात्रुलाई अनिवार्य क्वारेन्टिन राख्ने निर्णय गरेको हो ।

नेपालको दक्षिण अफ्रिकी क्षेत्रमा सिधा हवाई उडान सम्पर्क नभए पनि त्यस क्षेत्रबाट आउने र त्यस क्षेत्रलाई ट्रान्जिट पारेर आउने हवाई यात्रुहरूलाई एक साताको क्वारेन्टिन अनिवार्य गर्ने निर्णय भएको हो ।

दक्षिण अफ्रिकाबाट आउने यात्रुलाई विमानस्थलमा अनिवार्य निगरानी, परीक्षण र क्वारन्टिन गर्ने र रिपोर्ट पोजेटिभ आयो भने नमुनाको सिक्वेन्सिङ गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमै भेरियन्ट पहिचानका लागि सक्वेन्सिङ गर्ने स्रोत साधन उपलब्ध रहेकोपनि मन्त्रालयले जनाएको छ । विदेशबाट आउने यात्रुको विमानस्थलमा एन्टिजेन परीक्षण गर्ने गरिएको छ ।

अहिले नेपालले खोप नलगाई आउने यात्रुहरूलाई एक हप्ताको क्वारेन्टिन अनिवार्य गरे पनि पूर्ण मात्रामा खोप लगाइसकेका यात्रुहरूलाई होटेल क्वारेन्टिन अनिवार्य गरेको छैन ।

नयाँ भेरियन्ट भित्रिन नदिन खोप लगाएर विदेशबाट आउने यात्रुहरूलाई नेपालले अनिवार्य क्वारेन्टिन र दोहोर्‍याएर पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने सुझाव विज्ञहरुको छ ।

सीमा नाकामा पनि परीक्षण र क्वारेन्टिनको व्यवस्थापन गर्नुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.