योग स्वस्थ जीवनका लागि उत्तम माध्यम हो : प्रधानमन्त्री देउवा

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले योग र ध्यान स्वस्थ जीवनका लागि उत्तम माध्यम भएको बताउँदै आज विश्वले नै योगलाई आत्मसात् गरेको बताएका छन् ।

पतञ्जलि योगपीठ नेपालअन्तर्गत नवनिर्मित रत्न सर्राफ भवन, पतञ्जलि नेपाल र आस्था नेपाल टिभी तथा स्वदेशी समृद्धि कार्डको आज उद्घाटन गर्दै उहाँले आयुर्वेद औषधि विश्वले नै मानिसकेको र यसको कुनै असरसमेत नभएकाले यो जीवनोपयोगी भएको धारणा व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले योग र ध्यान तथा आयुर्वेद औषधि निर्माण र प्रयोगमा योगऋषि स्वामी रामदेव बाबा र आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजले गरेको अनुसन्धान, प्रचार र योगदानको सराहना गरे । सो अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा आयुर्वेद औषधि प्रशोधन तथा उत्पादनका लागि गैरनाफामूलक उद्योग स्थापना र सञ्चालन गर्न उनीहरुलाई सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले बाबा रामदेव र आचार्य बालकृष्ण नेपाललाई माया गर्ने व्यक्ति भएको बताउँदै उहाँहरुले नेपाललाई गरेको विभिन्न सहयोगका लागि धन्यवाद दिए । 

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाबा रामदेव र आचार्य बालकृष्णले योगबाट नयाँ क्रान्ति, साधना योगबाट समाजलाई निरोगिता र आरोग्यबाट उद्योगतिर रुपान्तरण गरेकाले उनीहरु ठूलो क्रान्तिकारी भएको बताए ।

अध्यक्ष दाहालले नेपाल जडीबुटीको भण्डार भएको र उनीहरुले नेपालमा त्यसको प्रशोधन र उत्पादनका लागि उद्योग खोल्ने योजना महत्वपूर्ण भएको बताउँदै नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा गरेको योगदानका लागि धन्यवाद दिए । 

विद्यार्थीको पठनपाठन लागि स्थापना गरिएको रत्न सर्राफ भवन, पतञ्जली नेपाल र आस्था नेपाल टिभी तथा स्वदेशी समृद्धि कार्डको उद्घाटनले नेपाली समाजमा नयाँ प्रेरणा प्रदान गर्ने र यस कार्यले सबैमा नयाँ ऊर्जा प्राप्त भएको उनका भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.