काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिले सर्वोच्च अदालतमा देखिएको समस्या छिटो निकास हुनुपर्छ भन्ने धारणा रहेको जनाएको छ ।
सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध शीर्ष नेताहरु सम्मिलित सो समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले सर्वोच्च अदालतमा देखिएको समस्याप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै न्यायालयको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्छ भन्ने धारणा बाहिर ल्याएको हो ।
बैठकले सम्बन्धित सबैबाट छिटो निकास दिने दिशामा पहल हुने आशा समेत व्यक्त गरेको समितिका सदस्य समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
समितिले पाँच दलीय गठबन्धन जनतालाई छिटो र सहज रुपमा सेवा सुविधा उपलब्ध गराउँदै विकास र समृद्धिको आकांक्षा पूरा गर्न क्रियाशील रहेको निष्कर्ष पनि समितिले गरेको मन्त्री कार्कीले बताए ।