तुलसीको विवाह गरी आज हरिबोधनी एकादशी मनाइँदै

0

काठमाडौं : तुलसीको भगवान विष्णुसँग विवाह र विशेष पूजा गरी सोमबार हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।

यस वर्ष आइतबार र सोमबार दुई दिन एकादशी परेकाले स्मृतिमा आधारित भई धार्मिक कर्म गर्नेले अघिल्लो दिन र वेदमा आधारित भई धार्मिक काम गर्नेले सोमबार एकादशी व्रत गरी विशेष पूजा आराधना गर्दैछन् ।

आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले यस एकादशीलाई हरिबोधिनी भनिएको हो । हरि शयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना तुलसीको व्रत गरी विशेष पूजा गर्ने गरिन्छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।

कार्तिक महिनाभर सबै देव देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । यस दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर खाने गरिन्छ ।

ठूलो एकादशी पनि भनिने यस एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेष नारायण, इचँगुनारायण र विशङ्खुनारायण स्थानमा विशेष मेला लाग्दछ । साथै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

Leave A Reply

Your email address will not be published.