काठमाडौं : सर्वोच्च अदालतको मूल ढोकामा आन्दोलनरत कानुन व्यवसायीलाई छल्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा आइतबार पनि सर्वोच्च अदालत छिरेका छन् ।
महान्यायाधीवक्ता कार्यालय नजिकको ढोकाबाट राणा १० बजेर ४८ बजे सर्वोच्च परिसरमा प्रवेश गरेका हुन् ।
राणालाई रोक्नका लागि नेपाल बार एसोसिएसनको आह्वानमा आइतबार पनि कानुन व्यवसायीले सर्वोच्च परिसरमै छिरेर धर्ना तथा नारावाजी गरेका छन् ।
धर्नामा सहभागी कानुन व्यवसायीले प्रधानन्यायाधीसले मार्गप्रशस्त नगर्दासम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।
यसअघि सर्वोच्च अदालत बाहिरको सडकमा धर्ना दिएका कानुन व्यवसायी आज भने परिसरमै छिरेर प्रदर्शन तथा नारावाजी गरेका हुन् ।
नेपाल वार एसोसियनको नेतृत्वमा शुक्रबारदेखि प्रधानन्यायाधीसलाई सर्वोच्च छिर्न नदिने आन्दोलन गर्दै आएको छ । बारले आइतबारदेखि जिल्ला तथा इकाईहरु पनि आन्दोलन शुरु गरेको छ ।
यसैबीच सर्वोच्च अदालतका काम नियमित हुनुपर्ने माग सहित सर्वोच्च बाहिर प्रदर्शन भएको छ । आफुलाई सामाजिक अभियन्ता बताउने समूहले न्याय प्रक्रिया अबरुद्ध पार्न नहुने माग सहित प्रदर्शन गरेको हो ।
निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रदर्शनमा सहभागी केही अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदर्शनमा सहभागी अभियन्ताहरुले सर्वोच्च परिसरमा धर्ना तथा प्रदर्शन गर्दै आएका कानुन व्यवसायीविरुद्ध चर्को नारावाजी समेत गरेका छन् ।
सो क्रममा केही समय धकेलाधकेल समेत भएको थियो । दुई साता भन्दा लामो समयदेखि प्रदर्शन हुँदा अदालतमा सुनुवाइ प्रक्रिया ठप्प भएको छ ।
अभियन्ताहरुले न्यायालयलाई राजनीतिमुक्त बनाउनुपर्ने भन्दै निरन्तर जस्तो प्रदर्शन गर्दै आएका छन् ।