सत्तारुढ गठबन्धनले बनायो ११ सदस्यीय समन्वय समिति

0

काठमाडौं : सत्तारुढ गठबन्धनले सरकार सञ्चालनमा सहयोग गर्न ११ सदस्यीय समन्वय समिति बनाएको छ । सोमबार बसेको पाँचदलीय गठबन्धनको बैठकले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो । 

समितिमा ५ दलका २–२ जना सदस्य रहनेछन् । सरकारको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि कार्यदलका सदस्य रहनेछन् । 

समन्वय समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा सदस्य छैनन् । तर प्रधानमन्त्री देउवा समितिको बैठकमा सहभागी हुनेछन् । 

समितिको नेतृत्व सुरुमा दुई महिना कांग्रेसका पौडेलले गर्नेछन् भने त्यसपछि आलोपालोमा गठबन्धनमा आबद्ध पार्टीले त्यसको नेतृत्व गर्नेछन् । 

समितिमा कांग्रेसको तर्फबाट पौडेल र कृष्ण सिटौला, माओवादीको तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)को तर्फबाट माधव नेपाल र अन्य एकजना, जसपाको तर्फबाट उपेन्द्र यादव र अन्य एकजना, राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र अन्य एकजना सदस्य रहनेछन् ।

सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन सत्ता गठबन्धनले समिति गठन गर्ने निर्णय गरेको हो । समितिले सरकारका काम कारबाहीमा समन्वय गर्ने, गठबन्धनबीच अन्तर्विरोध भए निवारण गर्ने, राष्ट्रिय सभा र उपनिर्वाचनको तालमेलबारे सहजीकरण गर्नेलगायत जिम्मेवारी पाएको छ । 

Leave A Reply

Your email address will not be published.