गठबन्धन चुनावसम्मै रहने प्रधानमन्त्री देउवाको दाबी

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकार चुनावसम्मै रहने दाबी गरेका छन् । बिहीवार बेलायतमा भएको कोप २६ कार्यक्रममा सहभागी भएर नेपाल फर्किएका प्रधानमन्त्री देउवाले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गठबन्धन सरकार चुनावसम्मै रहने दाबी गरेका हुन् ।

उनले बेलायतमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग एयरस्पेस लगायत देशका विभिन्न समस्याहरुका बारेमा कुरा गरेको बताए । भारतीय प्रधानमन्त्री मोदीसँग लुम्बिनी अन्तर्र्राष्ट्रिय विमानस्थल सञ्चालनपछि भारतको भूमि हुँदै विमानहरु अन्यत्र जानुपर्ने भएकोले त्यस सम्बन्धमा पनि कुरा गरेको बताउँदै नेपालप्रति भारतको सद्भाव देखिएको बताए ।

प्रधानमन्त्री देउवाले भारतले आफ्नो देशमा युरिया मलको अभाव हुँदाहुँदै नेपाललाई मल उपलब्ध गराएको बताउँदै भारतलाई धन्यवाद दिएको बताए ।

उनले बेलायती रक्षामन्त्रीले नेपाली गोर्खा सैनिकको समस्या समाधान गर्ने बताएको पनि जानकारी गराए । प्रधानमन्त्री देउवाले बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नेपाललाई आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएको बताए ।

उनले नेपालमा हरित ग्याँस घटाउने कुरा आफूले कोप २६ मा राखेको बताउँदै सबै देशले यसमा सहयोग गर्ने र कार्बन उत्सर्जन कम गर्नेमा प्रतिवद्धता जनाएको बताए ।

प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको बताउँदै मोदीले आफूलाई भारत भ्रमणको निम्तो दिएको बताए ।

प्रधानमन्त्री देउवाले एमसीसीको अध्यक्षलाई भेटेर नेपालमा अब छिटै पत्रकार सम्मेलन गरी एमसीसी पास गर्ने बताएको जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.