काठमाडौंमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

0

काठमाडौं : काठमाडौं जिल्लामा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ संक्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड पालना गर्दै देउसी खेल्नका लागि समयसीमा तोकेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी देउसी भैलो, नाचगान लगायत कार्यहरू राति ९ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्वक गर्ने र यस्ता कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधिहरू नगर्ने/नगराउने ।’

तिहारका बेला पटका, आतसबाजीजस्ता विस्फोटक एवं प्रज्ज्वलनशील पदार्थ उत्पादन, ओसार पोसार, बिक्री वितरण तथा प्रयोग नगर्नसमेत प्रशासनले आह्वान गरेको छ । कोभिड–१९ को जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्दै मादक पदार्थ सेवन नगरी सभ्य र शान्तिपूर्ण तरिकाले देउसी भैलो खेल्न प्रशासनले आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.