रवीन्द्र मिश्रको संघीयता खारेजी सम्बन्धी प्रस्ताव केन्द्रीय समितिबाट दुई तिहाईले पारित

0

काठमाडौं : विवेकशील–साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सार्वजनिक गरेको राजनीतिक दस्तावेजलाई सो पार्टीको केन्द्रीय समिति बैठकले पारित गरेको छ ।

केन्द्रीय समितिका दुईतिहाई सदस्यहरूको समर्थनमा दस्तावेज पारित भएको हो । संघीयता खारेजी र धर्मनिरपेक्षतामाथि जनमत संग्रह गर्ने अध्यक्ष मिश्रको प्रस्ताव पारित भएको प्रवक्ता शरदराज पाठकले प्रेस विज्ञप्ति जारी गरेर बताएका छन् ।

मिश्रले केही समयअघि संघीयता खारेज गर्नुपर्ने तथा धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने मतसहितको राजनीतिक दस्तावेज सार्वजनिक गरेका थिए । उक्त दस्तावेजमा संयोजक मिलन पाण्डे असन्तुष्ट भएपछि विवाद बढेको थियो ।

बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ भने पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको निष्कर्ष निकालेको छ ।

मिश्र पक्षले बिहीबार बोलाएको बैठकमा संयोजक मिलन पाण्डे पक्षका सदस्यहरु चाहिँ उपस्थित थिएनन् । पाण्डे पक्षले शुक्रबार केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

Leave A Reply

Your email address will not be published.