वार्ताको औचित्य छैन: अध्यक्ष यादव

0

जनकपुरधाम, १० भदौ । आन्दोलनरत मधेस केन्द्रित दलहरुलाई सरकारले वार्ताका लागि पहल गरिरहेका बेला सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्ताको कुनै औचित्य नरहेको बताउनुभएको छ । आफूहरुले कुनै नयाँ मागका लागि आन्दोलन नगरेको बताउँदै उहाँले विगतमा भएको आठ बुँदे सम्झौता कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।
आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले आफूहरुसँग भएको २२ बुँदे र आठ बुँदे मागलाई संविधानमा ठाउँ दिए तत्काल आन्दोलन रोकिने स्पष्ट पार्नुभयो । अहिले जारी आन्दोलन रोकिन तत्कालीन सरकारले आफूहरुसित गरेको सम्झौता आगामी संविधानमा सुनिश्चित हुनुपर्ने ‘बटमलाइन’ रहेको उहाँले बताउनुभयो ।
चार दलका केही नेताले व्यक्तिगत स्वार्थका लागि प्रस्तुत गरेको सङ्घीय संरचनाको खाका अन्तरिम संविधान तथा विगतका आन्दोलनहरुको भावना विपरीत रहेको उहाँको भनाइ थियो । संविधानसभालाई लत्याई चार दलका चार नेताले आफूखुसी गरेको र १६ बुँदे सहमतिका कारण देश द्वन्द्वमा फसेको उहाँले बताउनुभयो ।
यसैगरी, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अर्को घटक तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले छुट्टै पत्रकार सम्मेलन गरी विगतको आन्दोलनका उपलब्धि र सम्झौताहरु संविधानमा सम्बोधन गरिएमात्र आन्दोलन रोकिने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.