परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्छ : ओली

0

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी ओलीले परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् । 

एमालेको पालिका अधिवेशनलाई सम्बोधन गर्दै ओलीले पाकिस्तानी शैलीमा परमादेश जारी गर्ने सबैले राजीनामा दिनुपर्ने बताए । उनले पाकिस्तानी शैलीमा परमादेशबाट सरकार गठन हुन थालेपछि आज सर्वोच्च अदालतमा समस्या देखिएको टिप्पणी गरे ।

ओलीले संसद् विघटनको समयमा बार एसोसियसन र वकिलले इजलास तोक्ने काम गरेको आरोप लगाए ।

ओलीले राज्यका तीनवटै निकायहरू अशक्त भएको भन्दै न्यायाधीशहरु आफैँ पोल खोला–खोलमा लागेको तथा संसद् असफल भइरहेको बताए । सरकार सम्पूर्ण रूपमा असफल भएको आरोप पनि उनले लगाए ।

गत असार २८ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । 

उक्त आदेशमा सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।

Leave A Reply

Your email address will not be published.