काठमाडौं : सरकारले परिचयपत्र नभएका कुनै पनि नागरिकलाई घरभाडा तथा काममा नलगाउन आग्रह गरेको छ ।
सोमबार गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै पछिल्लो केही दिनयता कतिपय विदेशी नागरिक परिचय लुकाइ अनाधिकृत रुपमा प्रवेश गरी नेपालमा बसोबास गर्ने प्रयास गरिरहेकाले परिचय नखुल्नेलाई घर वा फ्ल्याट भाडामा नदिन सर्वसाधारणलाई आग्रह गरेको हो ।
सोमबार बिहान काठमाडौंको सिनामंगलस्थित एक होटलबाट ११ जना अफगान नागरिकलाई प्रहरीले पक्राउ गरेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
“पछिल्ला केही दिनका घटनाहरुबाट कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृतरुपमा नेपाल प्रवेश गरी बसोबार गर्ने प्रयास भइरहेको बुझिएकोले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिहरुलाई घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरुलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिन्छ,” विज्ञप्तिमा भनिएको छ, “साथै कोही पहिचान नखुलेका विदेशी नागरिकहरु देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गरी सहयोग गरिदिनुहुनसमेत अनुरोध छ ।”
