काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सोमबार फुलकोर्ट बैठक बोलाएका छन् । न्यायपालिकामा देखिएको समस्या समाधानको उपाय खोज्न नेपाल बार एसोसियनले दवाव दिएपछि राणाले फुलकोर्ट बैठक बोलाएका हुन् ।
प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठकमा सहभागी नहुने समझदारी सर्वोच्च अदालतका १४ न्यायाधीशले आइतबार गरेपछि प्रधानन्यायाधीश राणा अप्ठेरोमा परेका छन् ।
सर्वोच्च अदालतमा हाल प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश छन । तीमध्ये १४ जनाले फुलकोर्ट बैठक बहिष्कार गर्ने भएपछि प्रधानन्यायाधीश अप्ठेरोमा परेका हुन् ।
फुलकोर्ट बैठकको एजेन्डामा सर्वोच्चमा बुझाइएको अध्ययन प्रतिवेदन कार्यान्वयन र वरिष्ठ अधिवक्ताको उपाधिसम्बन्धी विषयलाई मात्रै राखेपछि १४ न्यायाधीश बैठक बहिष्कार गर्ने सहमतिमा पुगेका हुन् ।
फुलकोर्ट बैठकमा सहभागी हुन प्रधानन्यायधीशले बारका प्रतिनिधिलाई समेत बोलाएका छन् ।
पछिल्लो समयमा पाँच दलीय गठबन्धनको सरकार आएपछि राणा विवादमा तानिएका छन् । गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएपछि थप विवादमा तानिएका प्रधानन्यायाधीशले फुलकोर्ट बैठक बोलाएका हुन् ।
यसअघि नेपाल बार एसोसिएसनका पदाधिकारीले आइतबार प्रधानन्यायाधीशलाई भेटेर न्यायपालिकामा देखिएको समस्या समाधानको उपाय खोज्न आग्रह गरेको थियो । प्रधानन्यायाधीशलाई राजीनामा लगायतको विकल्प खोज्न समेत बारले सुझाव दिएको छ ।