एनआरएनए एनसीसीहरुको पहिलो विश्व भेलामा सम्पन्न , ४४ बढी एनसीसी अध्यक्षहरुको एउटै राय, बिधानको पालना र सहमतिबाट समस्या समाधान हुने गरि संरक्षक परिषदलाई बिबाद समाधान गर्न आग्रह
६ महिना म्याद थप गर्ने प्रावधान विधानमै छैन : संरक्षक हिराचन
काठमाडौँ (जीएनएन) – गैरआवासीय नेपाली संघसंग आबद्ध राष्ट्रिय समन्वय समिति (एनसीसी) हरु मध्ये ८० प्रतिशत भन्दा बढी एनसीसी अध्यक्षहरुको सहभागितामा पहिलो विश्व भेला सम्पन्न भएको छ ।
आइतबार भर्चुएल माध्यमबाट आयोजना गरिएको गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरुको पहिलो विश्व भेला उद्घाटन समारोहका वक्ताहरुले एनआरएनएमा सबैको अपनत्व बनाएर अगाडि बढ्न सुझाव दिएका छन् । उनीहरुले हाल स्थगित गरिएको संघको दशौँ महाधिवेशन र चुनाव एक महिनाभित्र गर्न माग समेत गरेका छन् । भेलामा बोल्ने वक्ताहरुले एनआरएनलाई एकताबद्ध बनाउन उक्त कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा भेलाका संयोजक बुद्धिसागर सुवेदीले एनआरएनमा देखिएको समस्याको जड पत्ता लगाएर समाधान गर्न माग गरे । हवाइजहाज क्याप्टेनले मात्र उडाउन नसकेकाले सबै मिलेर अगाडि बढ्न नसकेमा दुर्घटनामा पर्नसक्ने टिप्पणी गरे । विधानमा एनसीसी अध्यक्षहरुको भेला गर्न सकिने स्पष्ट लेखिएको उनले बताए । संयोजक सुवेदीले भने, ‘संस्था रहेमा हामी सबै रहन्छौं । संस्थाका कारण हामी यो ठाउँमा आइपुगेका छौं । एनसीसीहरुले स्वायत्त रुपमा काम गर्न पाउनुपर्छ।
कार्यक्रममा पूर्व परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपाली संघको नेतृत्वले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको भावना र धारणाको सुनुवाइ गर्नुपर्ने सुझाव दिए ।
पूर्व परराष्ट्र मन्त्री महतले एनआरएनएले लोकतान्त्रिक विधि र पद्धतिलाई आत्मसात गर्न आग्रह गरे । ‘विधि र पद्धति अनुसार एनआरएनए चलोस् भन्ने हाम्रो मूल उद्देश्य हो। ‘डेमोक्रेटिक स्पिरिट अनुसार, एनआरएनएको विधि र प्रक्रिया अनुसार, समस्या समाधान गरेर चाँडो भन्दा चाँडो टुंगोमा पुग्नुपर्छ’, पूर्व मन्त्री महतले भने, ‘अहिलेको अन्तर्राष्ट्रिय कमिटिले पनि समस्याहरु टुंगोमा पुराउनु पर्छ ।’ नेपालका सम्पूर्ण राजनीतिक दलहरुका लागि पनि एनआरएनए उदाहरणीय संस्था बन्नुपर्ने उनले बताए ।
‘६ महिना म्याद थप गर्ने प्रावधान विधानमै छैन’
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै संघका पूर्व अध्यक्ष तथा संरक्षक देवमान हिराचनले १८ वर्षको इतिहासमा पहिलो पटक संघको महाधिवेशन र चुनाव गर्न नसकेकोमा दुःख लागेको बताए । उनले अन्तर्राष्ट्रिय समन्वय परिषदले आफ्नो कार्यकाल आफै ६ महिना थप गर्ने प्रावधान गैर आवासीय नेपाली संघको विधानमै नरहेको स्पष्ट पारे । उनले संघमा आफैले बनाएको विधान र नेपाल सरकारको कानून पालना नगर्दा अहिलेको समस्या आएको पनि बताए । ‘संरक्षक परिषदले हामीलाई जिम्मा दिए १ महिना भित्र समाधान गर्न सक्छौं भनेका थियौ तर गरेको निर्णय पनि लागू भएन,’ उनले भने ।
‘संस्थाको हित या व्यक्तिगत स्वार्थ’
गैर आवासीय नेपाली संघका सल्लाहकार तथा २०२१-२३ का लागि अध्यक्ष पदका प्रत्यासी समेत रहेका कुल आचार्यले गैरआवासीय नेपाली संघमा हृदयदेखि संस्थाको हितमा काम गरेको या व्यक्तिगत स्वार्थमा काम गरेको भन्ने कुरालाई छुट्याउनु पर्ने बेला आएको बताए । अरुलाई हिलो छ्याप्ने, अरुलाई दोष लगाएर आफु चोखिने काम गर्न नहुने बताए । दशौं महाधिवेशन सकेर अब हाम्रा बाँकी रहेका कामहरु गैर आवासीय नेपालीका नागरिकता, सम्पत्तिका सुरक्षा देखि सामूहिक लगानी र सामूहिक सुरक्षा कोष लगायतका विषयमा काम गर्नु पर्ने बेला आएको आचार्यले जनाए ।
संसारभरका नेपालीहरुलाई नेपालसँग जोड्नु पर्ने बेला आएको छ । नेपाल हामी जन्मिएको ठाउँलाई कसरी राम्रो बनाउने भन्दा पनि अहिले संस्था कसरी कब्जा गर्ने तथा कतै कतै संस्थालाई व्यक्तिगत फाइदाका लागि प्रयोग त भइरहेको छैन भन्ने विषयमा सोँच्ने बेला आएको छ । अहिलेको समस्या समाधान गर्नका लागि कहिले संरक्षक परिषद्लाई, कहिले क्षेत्रलाई दिने भनिन्छ, कहिले दुई जनाको कमिटी कहिले चार जनाको कमिटी भनिन्छ । तर समस्या बल्झाउने मात्रै काम भएको छ, आचार्यले भने ।
उनले आत्मआलोचना गरेर संस्थाको हितका लागि अगाडि बढन सबैलाई आह्वान पनि गरे।
‘एनसीसीहरु संस्थाका पिलर’
भेलालाई सम्बोधन गर्दै संघका सल्लाहकारहरू विश्व आदर्श पण्डित, त्रिलोक गुरुङ, केन्द्रीय उपाध्यक्ष मन केसी, सोनाम लामा , सचिव आर के शर्मा, सह कोषाध्यक्ष लोक दाहाल, महिला संयोजक भोमा लिम्बू लगायतका वक्ताले एनसीसीहरु संस्थाका पिलर हुन् भन्दै एनसीसीहरुको भेलाबाट कोहि पनि डराउन नहुने बताएका थिए। त्यसै गरि सल्लाहकारहरु हरिबोल भण्डारी , एसि शेर्पा, युरोप सन्योजक नारायण आचार्य, अफ्रिका संयोजक रोशन थापा, युबा संयोजक हिमाल गुरुङ, लगायतका पदाधिकारीहरुले संगठनको बिधान र मर्यादा कुल्चिएका कारण आएको समस्या आपसी सहमतिमा समाधान गरेर अगाडि बढ्नु पर्ने सुझाब दिए ।
भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराई, नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, नेकपा एकीकृत प्रवास समन्वय समितिका प्रमुख श्रीप्रसाद साह, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट, जनसम्पर्क समिति अमेरिकाका बिष्णु सुवेदी लगायतका वक्ताले शुभकामना दिंदै गैर आवासीय नेपाली संघको दशौँ महाधिवेशन र चुनाव निस्पक्ष र पारदर्शी ढंगबाट जति सक्दो चांडो गर्न सुझाव दिएका थिए ।
झन्डै साढे चार घण्टा चलेको उद्घाटन सत्रको एनसीसी अष्ट्रेलियाका पूर्व अध्यक्ष केशव कँडेलले संचालन गरेका थिए । उदघाटन सत्र सकिएपछि बन्द सत्र भएको थियो , बन्द शत्रमा पारितभएका बिषयहरुलाई भोलि केन्द्रिय समितिलाई पठाउने र सार्वजनिक गर्ने आयोजकहरुले बताएकाछन ।