काठमाडौँ – गैर आवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले शनिबार संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) का सदस्यहरुले व्यक्त गरेका धारणा अनुरुप मात्र निर्णय सार्वजनिक गर्न माग गरेका छन्।
आइतबार संघका अध्यक्ष कुमार पन्तलाई एक पत्र पठाउंदै आचार्यले संघका उपाध्यक्ष मन केसीले संघभित्र देखिएका समस्याहरु समाधान गरी महाधिवेशन गराउने वातावरण निर्माण गर्न संरक्षक परिषद, अध्यक्ष र आवश्यक परेमा निर्वाचनमा उम्मेदवार नबन्ने अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइइएस) का कुनै पदाधिकारीलाई पनि समितिमा राखेर जिम्मा दिन राखेको प्रस्तावलाइ उपस्थित संख्याको बहुमतले समर्थन गरेको तर अध्यक्ष पन्तले निष्कर्ष सुनाउँदा उक्त सुझाव भन्दा अलग किसिमले समिति बनाउने खालको आसय ब्यक्त गरेको जनाएका छन् ।
त्यस्तै अध्यक्ष पन्तले ३० नोभेम्वर २०२१ मा महाधिवेशन गर्ने प्रस्तावलाई बैठकमा उपस्थित सदस्य संख्याको करिब ९० प्रतिशतले समर्थन गरेको तर बैठकको अन्त्यमा अध्यक्षले निष्कर्ष सुनाउँदा ३० नोभेम्बरमा महाधिवेशन गर्ने निर्णय भयो भन्ने कुरा स्पष्ट रुपमा नआएको उनले पत्रमा उल्लेख गरेका छन्।
शनिबार झन्डै सात घण्टा चलेको बैठकमा ८० प्रतिशत भन्दा बढी सदस्यहरुले ३० नोभेम्वर २०२१ भित्रै महाधिवेशन र चुनाव गरि सक्नु पर्ने म्यान्डेट दिएका थिए, तर अध्यक्ष पन्तले भने संघको कार्यकाल ६ महिना थप गर्न प्रस्ताव राखेका थिए। उनले उक्त प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत नगरी अचानक जूम मिटिंग अन्त्य गरिदिएका थिए।
सन् २०२१-२३ कार्यकालका लागि संघको सचिव पदमा उम्मेदवारी घोषणा गरेका आचार्यले बैठकको माइन्युट तयार गर्दा संघका बहुमत पदाधिकारी र सदस्यहरुबाट प्राप्त सुझावहरुलाई समेटन पनि अध्यक्ष पन्तको ध्यानाकर्षण गरेका छन्।
उक्त बैठकको रेकर्ड आइसीसीमा उपलब्ध छ।
संघको दुइ वर्षे कार्यकाल महाधिवेशन तथा चुनाव समेत नगरी आइतबार राती सकिंदै छ। यसअघि आइसीसीले अक्टोबर २३-२५, २०२१ मा संघको दशौँ महाधिवेशन गर्ने तथा चुनाव चाहिं अनलाइन प्रणालीबाट गर्ने निर्णय गरेको थियो।
हेर्नोस आचार्यको पत्र जस्ताको तस्तै:
श्रीमान अध्यक्षज्यू,
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद
बिषय :- ध्यानार्कषण गरेको बारे
महोदय,
उपरोक्त सम्बन्धमा हिजो (१६ अक्टोबर २०२१ मा) भएको संघ को ८० औं ICC बैठकमा उठेका केहि महत्वपूर्ण सवालहरू र बैठकको समापन प्रकृयाको बारेमा यहाँको ध्यानाकर्षण गर्न चाहन्छु।
१ बैठक सुरु गर्दा अध्यक्षज्यूले राख्नु भएको ३० नोभेम्वर २०२१ मा महाधिवेशन गर्ने प्रस्तावलाई उपस्थित संख्याको करिब ९० प्रतिशतले समर्थन गरेको थियो । तर बैठकको अन्त्यमा अध्यक्षज्यूले निष्कर्ष सुनाउँदा ३० नोभेम्बरमा महाधिवेशन गर्ने निर्णय भयो भन्ने कुरा स्पष्ट आएन।
२ बैठकमा संघका उपाध्यक्ष मन के.सी. ज्यूले संघ भित्र उत्पन्न विवादले १८ बर्षको इतिहासमा पहिलो पटक समितिको म्याद थप्नु पर्ने अवस्था आएकोमा दुःख प्रकट गर्दै संघभित्र देखिएका विभिन्न समस्याहरु (ICC महाधिवेशन प्रतिनिधी छनोट, परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्र आदि) को समाधान गरी महाधिवेशन सम्पन्न गराउने वातावरण निर्माण गर्न वर्तमान संरक्षक परिषद ,वर्तमान अध्यक्ष र आवश्यक परेमा निर्वाचनमा उम्मेदवार नबन्ने वर्तमान IES का कुनै पदाधिकारीलाई पनि समितिमा राखेर जिम्मा दिनु पर्छ भन्ने प्रस्ताव (विचार) मा सर्मथन गर्ने र संरक्षक परिषदलाई विवाद समाधान गरी अधिवेशनमा जाने वातावरण बनाउने जिम्मा दिनुपर्छ भन्ने पक्षमा उपस्थित संख्याको बहुमत साथीहरूले आफ्नो विचार राख्नु भएको थियो। तर अध्यक्षज्यूले निष्कर्ष सुनाउँदा बैठकमा प्राप्त बहुसंख्यक साथीहरूको सुझाव भन्दा अलग हिसाबले संरक्षक परिषद भन्दा बाहीरका ब्यक्तिहरू राखेर समिति बनाउने खालको आसय ब्यक्त गरेको पाईयो।
३ बैठकको सुरु र अन्तमा अध्यक्षज्यूले नेपाल सरकार परराष्ट्र मन्त्रालयबाट प्राप्त निर्देशन र पत्रलाई खारेज गर्दछु भनेर दिनु भएको अभिव्यक्तिले संघ र नेपाल सरकारबीचको सम्बन्धमा दरार उत्पन्न गर्ने वातावरणको निर्माण गर्ने सम्भावना देखिन्छ।
४ बैठकमा उठेका विषयमा अध्यक्षज्यूले निस्कर्ष सुनाउँदा साथ अरुको प्रतिकृया नै नसुनी एक्कासी आजको बैठक समाप्त भनेर जुम बन्द गरीनुले बैठकको भावना विपरित माइन्यूट आउन सक्ने आशंका बढेको छ। अत: हिजोको बैठकको माइन्युट तयार गर्दा संघका बहुमत पदाधिकारी र सदस्यहरुबाट प्राप्त सुझावहरुलाई समेटियोस् भन्ने कुरामा अध्यक्षज्यूको ध्यान आकृष्ट गर्न चाहन्छु।
नारायण आचार्य
संयोजक, यूरोप
गैर आवासीय नेपाली संघ
मिति: १७ अक्टोबर २०२१