एरआरएनएकाे वर्तमान कार्यसमिति ६ महिना कार्यकाल बढाउने तयारीमा

0

काठमाडौँ —  गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का बहुसंख्यक सदस्यहरुको माग विपरित वर्तमान कार्यसमितिले आफै आफ्नो कार्यकाल ६ महिना बढाउने तयारी गरेको छ।  

शनिबार भर्चुएल माध्यमबाट झन्डै सात घण्टा चलेको बैठकको शुरुमा केन्द्रीय अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रालयको पत्र पछि उत्पन्न परिस्थितिलाइ ध्यानमा राखी संघको दशौँ महाधिवेशन स्थगित गर्नु परेको बताएका थिए।  उनले महाधिवेशन र चुनाव गराउन आइसीसीको पदावधि ६ महिना थप गर्न प्रस्ताव गरेका थिए।  उनले ३० नोभेम्वर २०२१ भित्रै चुनाव गराउने गरि काम गर्ने दावी गरे।  

बैठकमा सहभागी एक आइसीसी सदस्यका अनुसार बैठक मा उपस्थित  झन्डै ८० प्रतिशत आइसीसी सदस्यहरुले वर्तमान नेतृत्वले समय रहदै संस्था भित्र उत्पन्न समस्याहरु समाधान गर्ने तर्फ कुनै पहल नगरेकाले अधिवेशन तथा चुनाव गराउने जिम्मा संरक्षक परिषद्लाई दिनु पर्ने माग गरेका थिए।  उनीहरुले ३० नोभेम्वरमा चुनाव गराउने अध्यक्षको  प्रस्तावप्रति विश्वास गर्न नसकिने जनाएका थिए।  उनीहरुले  पदावधि बढाउनु पर्ने नै भए एउटा ‘रोड म्याप’ ल्याउन  र डेलिगेट्स सम्बन्धी विवाद तत्काल समाधान गर्न पनि माग गरेका थिए।  

युरोप क्षेत्रीय संयोजक तथा २०२१-२३ का लागि  सचिव पदका उम्मेदवार नारायण आचार्यले संस्थालाई अनिर्णयको बन्दी नबनाउन र प्याकेजमा सहमति खोज्नु पर्ने धारणा राखेका बताइएको छ।  उनले संस्थामा हैकमवाद जारी रहे संस्था विघटनतिर जाने चेतावनी पनि दिएका थिए।  

ती सदस्यका अनुसार संस्थाका सचिव आर के शर्माले गैर आवासीय नेपाली संघ साझा संस्था भएकाले सबैको भावना समेट्ने गरी संस्थालाई अगाडी बढाउनु पर्ने जनाएका थिए।

त्यस्तै उपाध्यक्ष मन केसीले परराष्ट्र मन्त्रालयले उठाएका विषयहरुलाई सम्बोधन गरेर मात्रै अगाडी बढ्नु पर्ने बताएका थिए।  उनले संरक्षकहरुमाथि विश्वास गर्न पनि आग्रह गरेका थिए।  पूर्व अध्यक्षहरु माथि विश्वास गर्न सक्दैनौं भने यो संस्था नै चाहिंदैन भन्दै केसीले चुनावमा नजाने कार्यसमितिका पदाधिकारीहरु र पूर्व अध्यक्षहरुको टिम बनाएर महाधिवेशन र चुनाव गराउनु पर्ने सुझाव दिएका थिए। उनले संस्थाका बहुसंख्यक आइसीसी सदस्यहरूको भावना विपरित निर्णय गरिए ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनी पनि दिएका थिए।

संरक्षक परिषदलाई जिम्मा दिनु पर्ने माग

त्यस्तै उपाध्यक्ष सोनाम लामाले पनि बैठकमा संरक्षक परिषदलाई जिम्मा दिनु पर्ने माग राखेका  थिए। उनले परराष्ट्र मन्त्रालयको चिठीलाई सहज रुपमा लिनु पर्ने बताउंदै जति सक्दो चांडो चुनाव गराउनु पर्ने बताएका थिए। अर्का उपाध्यक्ष बद्री केसीले परराष्ट्रको चिठीलाई संस्थाभित्र शुद्धिकरण गर्ने अवसरको रुपमा उपयोग गर्नु पर्ने बताउंदै विद्यार्थीहरुलाई पनि एनआरएनको परिभाषा भित्र पार्नु पर्ने बताएको ती आइसीसी सदस्यले जनाए।  

त्यस्तै केन्द्रीय सल्लाहकार तथा २०२१-२३ का लागि अध्यक्षका उम्मेदवार कुल आचार्यले परराष्ट्र मन्त्रालयले संघको विधानमा भएको कुरा मात्रै उल्लेख गरेको र विधान भन्दा बाहिर गएर केहि पनि नलेखेको बताएको एक आइसीसी सदस्यले जानकारी दिए।  उनका अनुसार आचार्यले साथीहरु परराष्ट्र मन्त्रालय सम्म जाने स्थिति कसरी बन्यो, त्यसको कारण पत्ता लगाए पछि मात्रै समस्याको समाधान खोज्न सकिने बताएका थिए।  आचार्यले एमआइएस प्रणालीको दुरुपयोग गरिएका प्रमाणहरु फेला परेको बताउंदै आफुले राजनीति गरेर अरुलाई राजनीति गरेको दोष नलगाउन चेतावनी पनि दिएको बताइएको छ।

अर्का केन्द्रीय सल्लाहकार सोम सापकोटाले संघ भित्र अहिले संकटकालको जस्तो अवस्था रहेको बताउदै समस्या समाधानका लागि संरक्षक परिषद र सल्लाहकारहरुसंग बैठक राख्न सुझाव दिएका थिए।  

तर बैठकको अन्त्यमा अध्यक्ष पन्तले सबै सदस्यहरुलाई आफुमाथि विश्वास गर्न र आइसीसीको पदावधि ६ महिना बढाउन प्रस्ताव राख्ना साथ उक्त प्रस्तावमाथि मतदान वा थप छलफल नै नगराइ जूम मिटिंग बन्द गरिएको थियो। पन्त ले २,३ दिन भित्र एउटा कमिटि गठन गर्ने पनि बताएका जनाइएको छ।

संघको १८ वर्षे इतिहासमा महाधिवेशन पर सारिएको यो पहिलो पटक हो।  महाधिवेशन तथा चुनाव नै नगराइ कुमार पन्त नेतृत्वको आइसीसीको कार्यकाल आइतबार राती १२ बजेदेखि सकिंदै छ।

“आइसीसीले आफ्नो म्याद आफै थप्न पाउंदैन। आइसीसीले उचित कारण देखाउनु पर्छ, तर  पछि  महाधिवेशनले अनुमोदन गर्नु पर्छ।  आइसीसीको बैठकमा अध्यक्षले ठाडो प्रस्ताव लगेर म्याद बढाउने कुरा अवैधानिक हो, यस्तो अभ्यास संसारमा कुनै संस्थामा छैन,’ एनआरएन जापानका पूर्व सल्लाहकार तथा  अन्तर्राष्ट्रिय कानूनका ज्ञाता डा. बलराम श्रेष्ठले भने।

आइसीसी बैठकको बहुमत विना नै संस्थापन पक्षले पदावधि थपिएको दावी गरे त्यसको सशक्त विरोध गरिने एक आइसीसी सदस्यले जनाएका छन्।  

Leave A Reply

Your email address will not be published.