लगाइयो बडादशैंको साइतको टीका, टीका थाप्न हिँड्नेको चहलपहल शुरु

0

काठमाडौं : नेपालीहरुको महान चाड शडादशैंको मुख्य दिन शुक्रबार शुभसाइतमा मान्यजनबाट टीका, जमरा तथा प्रसाद लगाइएको छ । पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा रहेको जनाएको थियो ।

सोही अनुसार देशभर शुभसाइतमा मान्यजनबाट टीका ग्रहण गरिएको हो । टीकाको उत्तम साईत विहान १० बजेर २ मिनेटमा रहेको भएपनि दिनभर टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

टीका लगाएसँगै उपत्यकाका सडकमा मान्यजनबाट टीका लगाउन जाने सर्वसाधारणको चहलपहल बढ्न थालेको छ ।

टीका लगाउनुअघि बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गरिएको थियो । विजयादशमीका दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गरिएको हो ।

विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ । घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन् ।

असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादशैं पर्व मनाउने परम्परा छ । मान्यजनबाट टीका र जमरा विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म लगाइन्छ ।

Leave A Reply

Your email address will not be published.