कुमार पौडेल हत्या प्रकरण : सर्वोच्चको आदेशपछि प्रहरीमा जाहेरी दर्ता

0

काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको दोहोरो भिडन्तका नाममा गैरकानुनी हत्यामा संलग्नताको आरोप लागेका व्यक्तिहरूविरुद्ध बुधबार जाहेरी दर्ता भएको छ ।

२०७६ को असारमा कुमारको गैरन्यायिक हत्यापछि नै उनकी आमा दुर्गादेवीले जाहेरी दिने प्रयास गरेको भएपनि प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयले निरन्तर उपेक्षा गर्दै आएका थिए ।

गत असोज १२ मा सर्वोच्च अदालतले एक साताभित्र जाहेरी दर्ता गरेर त्यसको जानकारी आफूलाई दिन आदेश दिएको थियो । सो आदेश बमोजिम हुलाकमार्फत् दिएको जाहेरी जिल्ला सरकारी वकिलको रोहबरमा सनाखत गरी दर्ता गरिएको हो ।

कुमार पौडेलको गैरन्यायिक हत्यामा संलग्न भएको भन्दै उनकी आमा दुर्गादेवीले दिएको जाहेरीमा सर्लाही जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, तत्कालीन जिल्ला प्रहरी प्रमुख, एसपी गोपाल भट्टराई, तत्कालीन प्रदेश नम्बर दुई प्रहरी प्रमुख डीआईजी हरिबहादुर पाल, प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने, प्रहरी नायव निरीक्षक सूर्यकुमार कार्की र जिल्ला अस्पताल सर्लाही मलंगवामा तत्कालीन अवस्थामा कार्यरत डा. वीरेन्द्रकुमार मण्डललाई विपक्षी बनाइएको छ ।

त्यस्तै तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पौडेलको गैरन्यायिक हत्याका लागि खटाएको भन्दै प्रहरी हवल्दारद्वय सत्यनारायण मिश्र र विनोद साहमाथि पनि कारवाहीको माग गरिएको छ ।

त्यस्तै दुर्गादेवीले आफ्ना छोरामाथि गोली प्रहार गरेको भन्दै प्रहरी प्रधान कार्यालयबाट खटिएका प्रहरी निरीक्षक कृष्णदेव साहमाथि पनि कारवाहीको माग गरेकी छन् ।

सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापालाई पनि गैरन्यायिक हत्यामा संलग्नताको आरोप लगाइएको छ । जाहेरीमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा र तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सल्लाह, योजना र तयारीमा आफ्ना छोराको हत्या भएको भन्दै जाहेरीमा उल्लेख गरेकी छन् । तर, उनीहरूलाई मुद्दामा सिधै विपक्षी भने बनाइएको छैन ।

हत्याको योजना बनाएको भन्दै स्थानीय नेताहरू वसन्तराज भट्टराई, कमल बुढाथोकी र प्रदेश सांसद डिल्लीप्रसाद उप्रेतीलाई पनि कारबाही गर्न माग गरिएको छ ।

Leave A Reply

Your email address will not be published.