बेलायतमा इन्धन आपूर्ति सहज बनाउन सेनाले थाल्यो ढुवानी

0

एजेन्सी : बेलायतमा सेनाले पेट्रोलियम पदार्थ आपूर्ति सहज बनाउन थालेको छ । बेलायतभरका पेट्रोल पम्पहरुमा सशस्त्र बलका कर्मचारीले आपूर्ति गर्न थालेका हुन् ।

चालक अभावले पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या भएसँगै सेनाले आपूर्ति सहज बनाउन थालेको हो । दुई सय भन्दा बढी सेना तथा सशस्त्र बलका कर्मचारीले इन्धन आपूर्तिमा खटिएको बेलायतको सेनाले जनाएको छ ।

आपूर्ति सहज बनाउन सरकारले १ सय ५० भन्दा बढी सेनाका ट्यांकरलाई तालिम समेत दिएको छ । बेलायतका रक्षा सचिव बेल वालेसले आवश्यकता अनुसार सेनाका ट्यांकर चालकलाई तालिम दिइएकाले यसै हप्ताभित्र आपूर्ति व्यवस्था सहज हुने बताएका छन् ।

सरकारले तीन सय भन्दा बढी कर्मचारीलाई इन्धन आपूर्तिका लागि अस्थायी रुपमा काम गर्न अनुमति समेत दिएको छ । चालक अभावमा इन्धन आपूर्तिमा अवरोध भएपछि पेट्रोल पम्पहरुमा लामो लाइन लाग्ने गरेको छ । चालक अभावले बेलायतमा रहेका आठ हजार पेट्रोल पम्प स्टेशनमध्ये करिब एक तिहाइमा मात्र इन्धन उपलब्ध हुँदै आएको छ ।

इन्धन मौज्दात पर्याप्त रहेपनि चालकहरु अनावश्यक मौज्दात गर्न खोज्दा कृतिम अभाव देखिएको बेलायत सरकारले बताउदै आएको छ ।

बेलायत युरोपेली संघ ईयूबाट बाहिरिएपछि कयौँ युरोपेली चालकहरू आफ्नो देश फर्किएपछि पछिल्लो संकटको अवस्था आएको हो । थप सीमाको झन्झट र आयमा पर्ने असरका कारण कतिपय अन्यत्र काम गर्न गएकाले पनि समस्या भएको छ ।

Leave A Reply

Your email address will not be published.