काठमाडौं : परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसंघको महासभामा नेपालका मुद्दा सतर्क र सशक्त रुपमा उठाएको बताएका छन् ।
अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा सहभागी भइ बिहीबार स्वदेश फर्केलगतै त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री खड्काले राष्ट्रसंघ महासभामा नेपालका चासो, चिन्ता र हितका विषयहरु उठाएको बताएका हुन् ।
परराष्ट्रमन्त्री खड्काले राष्ट्रिय हित र कूटनीतिक सम्बन्ध विस्तारका दृष्टिले आफ्नो अमेरिका भ्रमण सफल भएको बताए । उनले महासभामा कोभिड १९ महामारी, जलवायु परिवर्तन, दीगो विकास लक्ष्यसहितका विषयमा नेपालको स्पष्ट धारणा राखेको जानकारी दिए । उनले नेपालको परराष्ट्रनीति आपसि समझदारी र अन्तराष्ट्रिय परिवेश अनुसार बनाउनुपर्नेमा जोड दिए ।
महासभामा नेपालको प्रतिनिधित्व गर्दै आफुले अल्पविकसित एवं भूपरिवेष्ठित देशको रूपमा नेपालको विकासका संरचनात्मक चुनौती अद्वितीय रहेको धारणा राखेको बताए ।
मन्त्री खड्काले दीगो विकास लक्ष्य प्राप्तिका लागि सहयोग तथा संयुक्त राष्ट्रसंघसँगको सहकार्यबारे पनि छलफल भएको बताए । महासभामा भाग लिने क्रममा साइडलाईन छलफल भएको र नेपाल र अन्यदेशको सम्बन्धका बारेमा पनि कुराकानी भएको उनको भनाइ छ ।
खड्का असोज ६ गते परराष्ट्रमन्त्रीको कार्यभार सम्हाले लगत्तै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क गएका थिए ।