एमाले संवादबाट भाग्न खोज्यो : सरकार

0

काठमाडौं : सरकारले प्रमुख प्रतिपक्षी नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको बताएको छ । संसदमा देखिएको गतिरोध अन्त्यका लागि छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएको थियो ।

सर्वदलीय बैठकमा बोलाउँदा बोलाउँदै पनि एमाले सहभागी नभएर वार्ता र संवादबाट भाग्न खोजेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

उनले यसअघि सभामुख अग्निप्रसाद सापकोटाले डाकेको बैठक पनि एमालेले बहिष्कार गरेको स्मरण गराए । यो बैठकमा अनुपस्थित भए पनि आगामी बैठकमा एमाले सहभागी हुने विश्वास कार्कीले व्यक्त गरे ।

बैठकपछि बाहिरिँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहदुर कार्कीले हाल संसदमा देखिएको गतिरोध अन्त्य जरुरी रहेको निष्कर्ष बैठकले निकालेको बताए ।

बैठकले संघीय संसदमा अवरोध जारी रहँदा जनतासँग प्रत्यक्ष सरोकार राख्ने काममा बाधा पुग्ने भन्दै वार्ताबाट समाधान खोज्न एमालेलाई आग्रह गर्ने निर्णय गरेको बताए ।

प्रधानमन्त्री देउवाले संसद अवरोध हटाउन प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसँग व्यक्तिगत रूपमा पहल गर्ने पनि प्रवक्ता कार्कीले जानकारी दिए ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई बोलाइएको थियो । तर नेकपा एकीकृत समाजवादीलाई दल स्वीकार नगर्ने भन्दै एमाले बैठकमा उपस्थित नभएको हो ।

Leave A Reply

Your email address will not be published.