नेपालमा हालसम्म लक्षित जनसंख्याको २८ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

0

काठमाडौं : देशभर हालसम्म लक्षित जनसंख्याको २८ प्रतिशतभन्दा धेरैले पूर्ण खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म एक करोड २९ लाख मात्रा खोप लगाइसकिएको मन्त्रालयले जनाएको हो । काठमाडौं उपत्यकामा ७३ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको पूर्णमात्रा खोप लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयको असोज १३ गतेसम्मको तथ्यांक अनुसार लक्षित जनसंख्या २१ लख २९ हजार ७७३ मध्ये १५ लाख ६२ हजार ७३४ जनाले पूर्ण मात्रा खोप पाएका छन् ।

त्यसैगरी, ७६ प्रतिशत अर्थात १६ लाख २२ हजार ४४१ जनाले पहिलो मात्रा खोप पाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म एक करोड ७८ लाख ५८ हजार ७ सय १० मात्रा कोरोना विरुद्धको खोप आएको छ । नेपालले विभिन्न देशबाट उक्त खोप ल्याएको हो । आएका खोपमध्ये सबैभन्दा धेरै चीनको भेरोसेल खोप रहेको छ । भेरोसेल खोप मात्रै नेपालमा एक करोड १९ लाख मात्रा खोप आएको छ ।

त्यसपछि धेरै आउनेमा भारतमा बनेको कोभिसिल्ड खोप रहेको छ । कोभिसिल्ड २४ लाख ४८ हजार मात्रा खोप भित्रिएको छ । यस्तै बेलायतमा उत्पादन भएको एस्ट्राजेनेका खोप १९ लाख ७५ हजार ८ सय ६० मात्रा, जोनसन एन्ड जोन्सन १५ लाख ३४ हजार ८ सय ५० मात्रा रहेका छन् ।

भारतले अनुदानमा दिएको १० लाख डोज खोप नेपाल आएपछि गत माघ १४ गतेबाट नेपालमा खोप अभियान सुरु भएको थियो ।

खोपपछि कोरोना संक्रमणदर ५२ दशमलब ३ प्रतिशतले घटेको छ । गत महिना ३६ हजार ८ सय ६१ जना अर्थात् ४ दशमलब ८६ प्रतिशत सक्रिय संक्रमित रहेकोमा अहिले घटेर १८ हजार ४ सय २२ अर्थात् २ दशमलब ३२ प्रतिशतमा झरेको छ ।

Leave A Reply

Your email address will not be published.