दशैंका लागि अग्रिम टिकट बुकिङ खुला

0

काठमाडौं : चाडबाडमा घर फर्कनेहरूलाई लक्षित गरी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायी केन्द्रीय महासंघले उपत्यकाभित्र आठ स्थानबाट टिकट काट्न सकिने व्यवस्था मिलाएका हुन् ।

कोटेश्वर, गौशाला, नयाँ बसपार्क, सुन्धारा, बल्खु, भक्तपुर बसपार्क, जगाती, कलंकीलगायत ठाउँबाट टिकट काट्न सकिने विभागले जनाएको छ । डिलक्स तथा कतिपय लामो दूरीका बसले अनलाइनबाट पनि टिकट काट्न सकिने व्यवस्था मिलाइएको छ ।

यात्रुहरूको सहायताको लागि उपत्यकाभित्र १४ स्थानमा यात्रु सहायता कक्ष राखिएको छ । यातायात व्यवस्था विभागका अनुसार यो वर्ष उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या अन्य वर्षहरूमा भन्दा कम रहेको छ ।

कोरोना महामारीका कारण अग्रिम रूपमा केही यात्रुहरू घर फर्किने क्रम बढेकोले दशैंको वेला खासै चाप नहुने अनुमान गरिएको छ । असोज १५ गतेदेखि २९ गतेसम्म करिब आठ लाख यात्रुले उपत्यका छाड्ने विभागको आंकलन छ ।

कोरोना महामारीलाई मध्यनजर राख्दै बस व्यवसायीहरूलाई कोरोना मापदण्ड पालना गराउन सरकारले आग्रह गरेको छ । दशैंमा यात्रुहरूको सहज यात्राका लागि नयाँ नयाँ डिलक्स गाडी सञ्चालन हुँदै छन् ।

यसपटक निजी कम्पनीहरूले १५ वटाभन्दा बढी महँगा नयाँ डिलक्स बस थप्ने तयारी गरेका छन् । खाल्डाखुल्डी, हिलाम्य र साँघुरो सडकका कारण दसैँको यात्रा चुनौतीपूर्ण हुने व्यवसायीको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.