पार्टीको महाधिवेशनको मिति सर्दैन : कांग्रेस

0

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको छ । शुक्रबार सिंहदरवारस्थित पार्टी संसदीय दलको बैठकमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रिय महाधिवेशन मंसीर ९–१३ गते तोकिएकै मितिमा हुने प्रष्टयाएको हो ।

बैठकले केन्द्रीय महाधिवेशनको मिति सार्ने प्रस्ताव पार्टीका कुनै पनि पदाधिकारीले नगरेको पनि जानकारी गराएको छ ।

बैठकले ९ गते शनिबार निर्धारित समयमै पार्टीको पालिका स्तरीय अधिवेशन हुने र त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ ।

हिमाली जिल्लालगायत कतिपय जिल्लामा पालिका स्तरीय अधिवेशनको मिति सार्नुपर्ने अवस्था आएमा पार्टी जिल्ला कार्य समितिको भावना अनुसार केन्द्रिय निर्वाचन समितिबाट अनूमति लिएर गर्न सक्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले बाँकि रहेका १३ जिल्लाको क्रियाशील सदस्यता सम्बन्धि विवाद तत्काल समाधान गर्ने निर्णय पनि गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

पार्टीको महाधिवेशनका लागि आवश्यक संगठनात्मक प्रतिवेदन, राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा महाधिवेशनको प्रचारका लागि आवश्यक निर्णय लिन छिट्टै केन्द्रिय समितिको बैठक बोलाउने निर्णय पनि कांग्रेसले गरेको छ ।

Leave A Reply

Your email address will not be published.