गैरजिम्मेवार सरकारका कारण मुलुकमा वित्तीय संकट सिर्जना : एमाले

0

काठमाडौं : नेकपा एमालेले सरकार गैरजिम्मेवार रुपले प्रस्तुत हुँदा मुलुकमा वित्तीय संकट सिर्जना भएको आरोप लगाएको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै सरकारले प्रतिनिधिसभाको बैठक बन्द गरेर त्यसको दोष प्रतिपक्षमाथि थोपर्ने र मुलुकमा वित्तीय संकट सिर्जना गर्ने ‘सुतुरमुर्ग चाल’ चालेको आरोप लगाएका हुन् ।

प्रतिनिधिसभाको बैठक ४ गतेसम्म सारेको विषयमा सरकारले जवाफ दिनुपर्ने एमालेले उल्लेख गरेको छ । भदौ ३० भित्र बजेट पारित गरिसक्नुपर्ने विषय बिर्सेझैं संसद असोज ४ गते किन सारियो यसको जवाफ यो गैरजिम्मवार सरकारले दिनुपर्ने महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिपक्षको अवरोधका कारणले बजेट समयमा पारित नभएको जस्तो गरी भ्रम सिर्जना गरिरहेको आरोप एमालेले सरकार र सभामुखमाथि लगाएको छ ।

सरकार र सभामुखका तर्फबाट भएका अनुचित र गैरकानुनी कार्यका कारणले नै प्रतिनिधिसभामा असहज स्थिति सिर्जना भएको पनि विज्ञप्तिमा उल्लेख छ । एमालेले सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट कटौती गरेकोमा पनि आपत्ति जनाएको छ ।

No description available.
Leave A Reply

Your email address will not be published.