प्रा. सुवेदी अन्तरराष्ट्रिय प्रकृति संरक्षण  संघको कानूनी सल्लाहकारमा नियुक्त

0

लन्डन : बेलायतको लीड्स विश्वविद्यालयमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक प्रा. डा.  सूर्य प्रसाद सुवेदी अन्तरराष्ट्रिय प्रकृति संरक्षण  संघ (आइयुसीएन) को कानूनी सल्लाहकार नियुक्त भएका छन् ।  

प्रत्येक चार वर्षमा हुने संघको विश्व समेलनलाई कानूनी र प्रक्रियागत विषयमा सल्लाह दिन उनलाई  नियुक्त गरिएको हो।  यस पटकको विश्व सम्मेलन  शुक्रबारदेखि  फ्रान्सको मार्से शहरमा शुरु भएको छ । संसारका अधिकांस देशहरु र थुप्रै गैर सरकारी संस्थाहरु उक्त संघका सदस्य छन्। स्विटजरल्याण्डमा प्रधान कार्यालय भएको सो संघको नेपाल सन् १९७४ देखि सदस्य रही आएको छ। संसारको प्रकृति र प्राकृतिक सम्पदाको संरक्षणमा अग्रणी भूमिका निर्वाह  गर्दै आएको उक्त संघको नेपालमा पनि कार्यालय छ र संघले नेपालको प्राकृतिक सम्पदाको  संरक्षणमा सहयोग गर्दै आएको छ।

 यस्तो प्रतिष्ठित अन्तरराष्ट्रिय संस्थाले कानूनी सल्लाहकारमा नियुक्ति गरेकोमा आफु गौरवान्वित भएको प्रा. सुवेदीले बताए। फ्रान्सका राष्ट्रपति एमानुअल माक्रोनले उद्घाटन गरेको उक्त अधिवेशनमा अन्य धेरै देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुले  सम्बोधन गरेका थिए।   उक्त अधिवेशनमा भागलिन प्रा. सुवेदी फ्रान्स पुगेका छन् ।  उनले अन्तरराष्ट्रिय वातावरण र पर्यावरण कानून र प्राकृतिक सम्पदा  संरक्षण सम्बन्धि थुप्रै कृतिहरु प्रकाशन गरेका छन्।

अक्सफोर्ड विश्व विद्यालयबाट विद्यावारिधि र महाविद्यावारिधि गरेका प्रा सुवेदीले संयुक्त राष्ट्र संघको मानव अधिकार प्रतिनिधि भएर क्याम्बोडियामा छ वर्ष र बेलायतको परराष्ट्र मन्त्रीको मानव  अधिकार सल्लाहकार भएर पाँच वर्ष काम गरि सकेका छन् । त्यसका साथै स्विटजरल्याण्डमा प्रधान कार्यालय भएको विश्व आर्थिक फोरम जसलाई डाभोस फोरम भनेर पनि चिनिञ्छ त्यसमा पनि बिशेषज्ञको हिसाबले उनले काम गरेका छन् । उनी  बेलायतकी महारानीबाट प्रदान गरिने ‘ओबिइ’ र ‘क्विन्स काउन्सेल’  उपाधिबाट पनि सम्मानित भएका छन्।

Leave A Reply

Your email address will not be published.