परराष्ट्रले सोध्यो एनआरएनएलाई स्पष्टीकरण, पाँच दिनभित्र जवाफ पठाउन निर्देशन (पत्रसहित)

0

काठमाडौं (जीएनएन) — परराष्ट्र मन्त्रालयले पाँच दिनको समय दिएर गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई स्पष्टीकरण सोधेको छ । दशौं विश्व सम्मेलनको मिति नजिकिइरहेका बेला मन्त्रालयले संघको राष्ट्रिय समन्वय परिषद् तथा महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयनका लागि भएका निर्वाचनमा देखिएको कमजोरी र धाँधलीका बारेमा संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) लाई स्पष्टीकरण सोधेको हो ।

एनसीसीहरुको निर्वाचनमा प्रविधिको दुरुपयोग गरिएको, एनसीसीहरुको अधिवेशनका लागि तोकिएको मिति भन्दा पछि पनि अधिवेशन गरिएको, तोकिएको मिति भन्दा पछि पनि महाधिवेशन प्रतिनिधि चयन गरिएको, उम्मेदवार भएका व्यक्तिहरु नै निर्वाचन प्रक्रियामा सहभागी भएकोले निर्वाचनको निष्पक्षतामा प्रश्न उठेको, निर्वाचन आचारसंहिता पालना तथा लागू नगरिएको, महाधिवेशन प्रतिनिधिहरुको विबरण संघको वेबसाइटमा प्रकाशित नगरिएको लगायतका विषयमा मन्त्रालयले एनआरएनए आइसीसीसँग स्पष्टीकरण माग गरेको हो ।

गैर आवासीय नेपाली संघ, परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो । आगामी अक्टोबरमा हुन गैरहेको संघको दशौं विश्वसम्मेलनका लागि मन्त्रालयले पनि छुट्टै समिति गठन गरिसकेको छ । जापान लगायतका केही देशहरुको राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा संघकै उच्च नेतृत्वले हस्तक्षेप गरी स्वच्छ र निष्पक्ष निर्वाचन हुन नदिएको उजुरीपछि मन्त्रालय तातेको हो ।

परराष्ट्र मन्त्रालयले संघलाई यसरी स्पष्टीकरण सोधेको पहिलो पटक हो । मन्त्रालयले पाँच दिन भित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ । ‘माथि उल्लेख गरिएका विषयमा के भएको हो, सत्य तथ्य के हो , आजका मितिले पाँच दिन भित्र सत्य तथ्य जानकारी पठाइदिनु हुन निर्देशनानुसार अनुरोध छ’ मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीद्वारा लेखिएको पत्रमा उल्लेख छ । मन्त्रालयले ‘आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन र अब हुने दशौं महाधिवेशनमा पदाधिकारीहरुको निर्वाचन स्वच्छ, धाँधलीरहित, निष्पक्ष र विश्वासनीय बनाउन संघले के कस्तो व्यवस्था गरेको छ सो बारेमा समेत विस्तृत जानकारी गराउन’ संघलाई निर्देशन दिएको छ ।

निर्वाचनको निष्पक्षतामा प्रश्न

संघले एनसीसीहरुलाई अधिवेशन गर्न जुलाई १ देखि ३१ सम्मको मिति तोकेको थियो । अधिकांश एनसीसीहरुमा अनलाइन निर्वाचन गरिएको थियो । तर, अनलाइन निर्वाचन भनिएपनि जापान, चिली, बेल्जियम लगायतका मुलुकमा गराइएको निर्वाचनको निष्पक्षतामा धेरै प्रश्नहरु उठेको छन् । यसैबीच गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रालयले सोधेका प्रश्नको जवाफ समयसीमा भित्रै पठाउने बताएका छन् । परराष्ट्र मन्त्रालयको चिठी सार्वजनिक भएपछि संवाददाताहरुसँग कुरा गर्दै पन्तले भने, ‘मन्त्रालयले चासो व्यक्त गरेका सबै विषयमा समयभित्रै जवाफ पठाउँछौं।’

परराष्ट्र मन्त्रालय संघको नियामक निकाय हो । यसअघि गत जनवरीमा आयोजना गरिएको विशेष महाधिवेशनपूर्व पनि परराष्ट्र मन्त्रालयमा उजुरी परेको थियो । परराष्ट्र मन्त्रालयले सचेत गराएपछि मात्रै संघको नेतृत्व सहमतिमा विशेष अधिवेशन गर्न तयार भएको थियो ।

Leave A Reply

Your email address will not be published.