दार्चुला तुइन प्रकरण : कूटनीतिक पहल गर्न परराष्ट्रलाई गृहको पत्र

0

काठमाडौं : महाकाली नदी पार गर्ने क्रममा भारतीय सशस्त्र सीमा बल ‘एसएसबी’का जवानले तुइनको लठ्ठा खुस्काइदिएपछि नेपालीको मृत्यु भएको विषयमा गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

लठ्ठा खुस्काउँदा नेपाली युवा जयसिंह धामी बेपत्ता भएको घटनाको अनुसन्धान र पीडितलाई उचित क्षतिपूर्ति भराउने गरी भारतसँग कूटनीतिक पहलका लागि गृहले पत्र पठाएको हो । कूटनीतिक पहलका लागि गरिने विषयबारे आन्तरिक समीक्षा, परामर्शपछि गृहले परराष्ट्रलाई पत्राचार गरेको हो ।

सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठिन छानविन समितिले एसएसबीका जवानले तुइनको लठ्ठा खुस्काएका कारण उक्त घटना भएको भन्दै अपराधमा संलग्नलाई भारतबाटै अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन र धामीका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति दिलाउन कूटनीतिक पहल अघि बढाउन सुझाव दिएको थियो ।

गत साउन १५ गते भारतको पाङला गाउँ नजिकै गस्कु इलाकामा खटिएका एसएसबीका जवानले लठ्ठा खुस्काउँदा दार्चुला ब्यास गाउँपालिका–२ का ३३ वर्षीय धामी महाकालीमा खसेर बेपत्ता भएका थिए । उनको अवस्था अहिलेसम्म अज्ञात छ ।

घटनापछि गृह मन्त्रालयले साउन १७ गते छानविन समिति गठन गरेको थियो । समितिले मंगलबार मात्रै गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो ।

Leave A Reply

Your email address will not be published.