सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागबण्डामा अझै जुटेन सहमति

0

काठमाडौं : सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । मन्त्रिपरिषदलाई पूर्णता दिने भनिए पनि सत्ता साझेदार दलहरुबीच सहमति जुट्न नसकेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताहरुबीच मंगलबार बिहान झण्डै दुई घण्टा छलफल भएको थियो । केही दिनदेखि सरकार विस्तार र मन्त्रालय बाँडफाँटबारे छलफलमा व्यस्त रहेको गठबन्धनले मंगलबार पनि थप छलफल गरेको हो ।

अहिले गठबन्धनमा आवद्ध दलहरुबीच महत्वपूर्ण मन्त्रालयको बाँडफाँट, मन्त्रालयको संख्यालगायतका विषयमा कुरा मिलिसकेको छैन । यस्तै गठबन्धनका नेताहरुले मन्त्रालयको भागबन्डा मिलाउने भन्दा पहिले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीको तयारीमा लागेको बताइएको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेशको डर सबैभन्दा बढी जनता समाजवादी पार्टीमा देखिएको छ । अध्यादेश विशेष अवस्थामा माधव नेपाललाई सहज बनाउनका लागि जारी गरिएको हो । त्यही अध्यादेशको भरमा जनता समाजवादी पार्टी पनि विभाजित भयो ।

जनता समाजवादी पार्टीबाट महन्थ ठाकुर पक्ष अलग हुँदा जनता समाजवादी पार्टीका नेताहरुले गुनासो गरेका छैनन् । तर अध्यादेश कायम नै राखेर मन्त्रीपरिषद्लाई पूर्णता दिँदा चाँही आफ्नो पार्टीमा फेरि विभाजन आउने भन्दै जसपाका नेताहरुले अध्यादेश खारेजी पहिला हुनुपर्ने माग गरेका छन् ।

जसपाका नेताहरुको आग्रहमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भागबन्डा मिलिसकेपछि अध्यादेश खारेज गरेर मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको बुझिएको छ ।

Leave A Reply

Your email address will not be published.