दुईतिहाई बढी नेपालीमा कोरोना प्रतिरोधी क्षमता : स्वास्थ्य मन्त्रालय

0

काठमाडौं : दुईतिहाई भन्दा बढी नेपालीमा कोरोना प्रतिरोधी क्षमता विकसित भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको सर्वेक्षणमा नेपालमा ६८ दशमलब ६ प्रतिशत व्यक्तिमा कोरोना विरुद्धको प्रतिरोध क्षमता देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार २१ देखि साउन ३० गतेसम्म ५ महिनाभन्दा माथि उमेर समुहका १३ हजार १ सय ६१ जनामा गरेको सेरो प्रिभिलेन्स सर्वेमा ६८ दशमलब ६ प्रतिशतमा कोरोना प्रतिरोधी क्षमता देखिएको हो ।

यस्तै कोरोनाको पहिलो डोज खोप लगाएका ८० र दुवै डोज लगाएका ९० प्रतिशतमा एन्टीबडी देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा लगाइरहेका खोप पनि प्रभावकारी भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ शहर तथा सबै लिंग, उमेर, पेशा सबै समूहमा समान रोग प्रतिरोधी क्षमता देखिएको उल्लेख छ ।

३ करोड जनसंख्यालाई नै प्रतिनिधित्व गर्ने गरी नमुना संकलन गरिएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल बताए । उनका अनुसार २ सय ५० घर भएको ठाउँमा १० घरको नमुना लिइएको थियो ।

विज्ञप्तिमा अझै पनि कोरोना महामारीको खतरा कायम रहेको र भाइरसले आफ्नो रुप परिवर्तन गरिरहने जोखिम कायम रहेकाले संक्रमण रोकथाम र नियन्त्रण प्रभावकारी उपाय भएकाले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, भीडभाड कम गर्ने र सरसफाईमा ध्यान दिन आग्रह गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणसँग मिल्दोजुल्दो कुनै पनि लक्षण देखिएमा आफ्नो स्थानीय तहसँग सम्पर्क गरी निःशुल्क कोरोना परीक्षण गराउन समेत आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.