निरन्तरको वर्षाका कारण देशका अधिकांश स्थान डुबानमा

0

काठमाडौं : बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थान डुबानमा परेका छन् । निरन्तरको वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्ला प्रभावित भएका छन् ।

नवलपरासीको परासी बजार डुबानमा परेको छ । झरही खोलाको पानी परासी बजारमा पस्दा डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । परासी बजारका अधिकांश घरको भूइतला डुबानमा परेका छन् ।

त्यस्तै, रुपन्देहीको दक्षिणी भाग मर्चवार तथा भैरहवा र तिलोत्तमाका केही भाग पनि डुबानमा परेका छन् । वर्षाका कारण पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ खण्ड पनि अवरुद्ध भएको छ । राजमार्गको बुटवल देवदेह खण्डमा पुल भासिएको छ भने विभिन्न ठाउँमा कलभर्ट बाढीले बगाएको छ ।

त्यस्तै अविरल वर्षाका कारण नवलपरासी ‘बर्दघाट सुस्तापूर्व’ नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा समेत पहिरो गएको छ । दाउन्नेका ठाउँ–ठाउँमा पहिरो जादा राजमार्ग अवरुद्ध भएको छ । वर्षका कारण कावासोती, गैँडाकोट, देवचुली, मध्यबिन्दु, विनयी त्रिवेणी, हुप्सेकोटका विभिन्न स्थान डुबानमा परेका छन् ।

कैलालीमा बाढीले बगाउँदा एक जना वृद्धाको मृत्यु भएको छ भने दुई जनाको सकुशल उद्दार गरिएको छ । लम्कीचुहा नगरपालिका–६ चरेलास्थित गुलरा नदीले बगाउँदा सोही ठाउँ बस्ने ९५ वर्षीया फुपिया थारुको मृत्यु भएको हो ।

वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत न्युरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँलगायतका ठाउँमा पानी जमेर जलमग्न भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । नेपालगञ्जमा २० मिलिमिटर वर्षा भएको छ ।

ढल निकासको उचित व्यवस्थापन नहुँदा नेपालगञ्जमा सामान्य वर्षा हुँदा पनि जलमग्न हुने गरेको छ । मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म नै भारी वर्षाको सम्भावना रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.