दार्चुला घटनाको छानविन प्रतिवेदन छिटो सार्वजनिक गर्न सरकारलाई संसदीय समितिको निर्देशन

0

काठमाडौं : प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले दार्चुलामा एसएसबीले तुइन काटेर महाकालीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । साथै धामीका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।

समिति बैठकले दार्चुला घटनाको सत्यतथ्य छिटो सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको हो । त्यस्तै बैठकले उक्त घटनामा कुटनीतिक पहलद्वारा दोषीलाई कानूनी कारबाहीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको समिति सभापति शशि श्रेष्ठले जानकारी दिइन् ।

त्यस्तै बैठकले दार्चुलाको व्यास क्षेत्रको सुरक्षा तथा आवतजावतका लागि सडक, पुल लगायतका पूर्वाधार यथाशीघ्र निर्माण गर्न पनि सुझाव दिएको छ । समिति सभापति श्रेष्ठले दार्चुलादेखि तिंकरसम्मको सडक छिटो निर्माण गरी आवतजावत सहज बनाउन र तुइन विस्थापित गरी झोलुंगे पुल निर्माण प्रक्रिया तत्काल शुरु गर्न पनि निर्देशन दिएको जानकारी दिइन् ।

त्यस्तै बैठकले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको तीन वर्ष पूरा हुँदा पनि कानूनी कारबाही हुन नसकेको भन्दै छिटो भन्दा छिटो दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिएको उनले बताइन् ।

गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाका विषयमा छानविन गर्न गठित समिति प्रतिवेदन तयार गर्ने क्रममा रहेको भन्दै छिट्टै सत्यतथ्यका आधारमा रिपोर्ट सार्वजनिक गरिने बताए ।

बैठकमा समिति सदस्यहरुले दार्चुला घटनाको सत्यतथ्य छिटो सार्वजनिक गर्दै दोषीलाई कडा कारबाही गर्नुपर्ने बताएका थिए । साथै उनीहरुले पीडित परिवारलाई आवश्यक राहत दिन पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

गत साउन १५ गते महाकाली नदी पार गर्नका लागि तुइन तर्ने क्रममा खसेर दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएका थिए । उक्त घटनामा भारतीय एसएसबीले तुइन खोलिदिएको बताइएको छ । त्यसपछि उक्त घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले छानविन समिति गठन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.