भदौ १८ गते वडा अधिवेशन शुरु हुनेमा नेता पौडेलको आशंका

0

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्दै केही कमजोरी त्रुटि भए सच्चाउनुपर्ने बताएका छन् ।

बुधबार पार्टी कार्यालय सानेपामा पुगेर जिल्ला सभापतिहरुको धर्नामा ऐक्यवद्धता जनाउँदै पौडेलले आफुले क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्न सभापतिलाई भनेको पनि जानकारी दिए ।

सबै तहका पदाधिकारी, वडादेखि क्षेत्र, केन्द्रसम्मकाले क्रियाशील सदस्यता विवरण हेर्न पाउनुपर्ने उनले बताए । क्रियाशील सदस्यता टुंगो नलागी चुनाव हुन नसक्ने भन्दै पौडेलले चुनाव गर्न भएपनि अहोरात्र खटेर महाधिवेशन गर्नुपर्ने धारणा राखे । उनले अब ढिला नगरी क्रियाशील सदस्यताका विवाद अन्त्य गर्दै तल्लो तहको अधिवेशन टुंग्याउनुपर्ने जिकिर गरे ।

नेता पौडेलले भदौ १८ गते वडा अधिवेशन शुरु गर्ने गरी ल्याइएको नयाँ कार्यतालिका कार्यान्वयन हुनेमा आशंका व्यक्त गरे ।

नेता पौडेलले सभापति शेरबहादुर देउवाले चुनाव शुरु हुन्छ भनपनि पार्टी मातहतका संयन्त्रबाट त्यो गाँठो नफुकेको भन्दै क्रियाशील सदस्यता टुंगो नलागी चुनाव कसरी हुन्छ भनि प्रश्न गरे ।

पौडेलसहित पार्टी अध्यक्ष शेरबहादुर देउवाबीच क्रियाशील सदस्यता विवाद समाधान भएको भनिएपनि पौडेल पक्षका जिल्ला सभापतिहरु अनशनमा बसेका छन् । 

पार्टी केन्द्रीय कार्यालयमा नुवाकोटका सभापति जगदीशनरसिंह केसी, काभ्रेका सभापति मधु आचार्य, धादिङका रमेश धमलाले रिले अनशन बसिरहेका हुन् ।

अनशन बसिरहेका नेता र कार्यकर्ताहरुको मागमा ऐक्यवद्धता जनाउन महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, दिलेन्द्र बडु, अर्जुननरसिंह केसी, गगन थापा, डा. शेखर कोइराला, रामकृष्ण यादव, कमला पन्तलगायत सानेपा पुगेका थिए ।

Leave A Reply

Your email address will not be published.