काबुलमा जारी उद्धार प्रयासमा मानवीय क्षतिको जोखिम रहेको बाइडेनद्वारा स्वीकार

0

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिकीहरुको उद्धार प्रयासमा मानवीय क्षतिको जोखिम रहेको स्वीकार गरेका छन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बोल्दै बाइडनले उनले काबुलमा जारी उद्धार अभियानलाई अहिलेसम्मकै ठूलो र अति कठिन हवाई उद्धार भएको समेत उल्लेख गरेका छन् ।

उद्धार प्रक्रिया सम्पन्न हुने बेलासम्म के हुन्छ भन्ने अहिले नै बताउन नसक्ने उल्लेख गर्दै उनले मानवीय क्षतिको जोखिम अस्वीकार गर्न नसकिने बताएका हुन् ।

राष्ट्रपति बाइडनले अफगानिस्तानमा रहेका सबै अमेरिकीहरुलाई फिर्ता ल्याउने वाचा गरेका छन् । अमेरिकी सैनिकलाई सहयोग गरेका ५० देखि ६५ हजार अफगानीहरुको उद्धार गर्ने बाइडनको योजना छ ।

अहिलेसम्म अफगानिस्तानबाट १३ हजारजनाको उद्धार गरिएको उनले जानकारी दिए । तालिबानले अमेरिकाको पासपोर्ट भएकाहरुलाई विमानस्थल प्रवेशमा रोक नलगाएको बताउँदै बाइडनले अहिलेलाई थप सैनिक पठाउनु पर्ने अवस्था नरहेको पनि उल्लेख गरे ।

अफगानिस्तानमा तालिबानले तीव्र गतिमा गरेको कब्जालाई लिएर अन्तर्राष्ट्रिय स्तरमा बाइडनको आलोचना भैरहेको छ । अमेरिकी नेतृत्वमा विगत २० वर्षदेखि जारी सैन्य अभियान अन्त्यको घोषणा गरेसँगै अफगानिस्तान गत आइतबारदेखि तालिबानले कब्जामा लिएको छ ।

Leave A Reply

Your email address will not be published.