अफगानिस्तानमा फसेका नागरिक अन्य देशले फर्काउन थाले, करिब १५ सय नेपाली उद्धारको पर्खाइमा

0

काठमाडौं : तालिबान विद्रोहीहरुले मुलुक कब्जा गरेपछि अफगानिस्तानमा कार्यरत नेपालीहरु उद्धारको पर्खाइमा बसेका छन् । सरकारी कार्यालय, दूतावास र नियोगको सुरक्षामा खटिएका नेपालीहरु उद्दारको प्रतिक्षामा बसेका हुन् ।

अफगानिस्तानमा अमेरिकी दूतावास, युरोपेली युनियन, राष्ट्रसंघ, क्यानेडियन दूतावास, विश्व बैंकको सुरक्षामा नेपालीले काम गर्दै आएका छन् ।

त्यस्तै बेलायती दूतावास, युरोपियन पुलिस, बरोन होटल, ग्रिन भिलेज लगायतमा नेपालीहरु कार्यरत छन् ।

केही नेपालीलाई म्यानपावर कम्पनीले फर्काउने तयारी गरिरहेका छन भने बाँकी नेपाली दूतावासले उद्धार गर्ने आशामा बसेका छन् ।

अमेरिकी दूतावासमा कार्यरत करिब तीन सय नेपालीलाई उसले नै फर्काउने जानकारी गराएको छ ।

काबुलमा रहेका विभिन्न देशका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा कार्यरत नेपालीको तत्काल उद्धार गरि सुरक्षित ठाउँमा राख्न र स्वदेश फर्काउन परराष्ट्र मन्त्रालयले अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपेली संघ, जापान तथा संयुक्त राष्ट्र सङ्घको कार्यालयलाई औपचारिक पत्राचार समेत गरेको छ ।

नेपालीको वस्तुगत अवस्था पत्ता लगाउन परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल समेत गठन भएको छ ।

उद्धारका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन दर्ता गर्ने व्यवस्था गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नयाँ दिल्लीमा रहेको नेपाली नियोगबाट ट्राभल एडभाइजरी समेत जारी गरिएको छ ।

Leave A Reply

Your email address will not be published.