कोभ्याक्समार्फत नेपालले मोडर्नाको ४० लाख डाेज खोप प्राप्त गर्ने

0

काठमाडौं : नेपालले कोभ्याक्समार्फत थप ४० लाख मात्रा मोडर्नाको कोरोना खोप प्राप्त गर्ने भएको छ ।

कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा मोडर्ना खोपको ४० लाख मात्रा खरिद गर्नका लागि नेपालले गाभीसँग सम्झौता गरेको हो ।

नेपाल खोप खरिदका लागि गाभीसँग सम्झौता गर्ने विश्वकै दोस्रो देश बनेको विश्व बैंकले जानकारी दिएको छ ।

यस सम्झौतासँगै नेपालको कोरोना विरूद्धको खोपको पुँजीको विविधीकरण र सुदृढीकरण भएको विश्व बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मोडर्ना खोपले १२ वर्ष उमेर माथिका नेपालीलाई आवश्यक खोपका विकल्पहरु विस्तार गर्न मद्दत गर्नुका साथै कोरोनापछिको सुरक्षित विश्वका लागि नेपालको प्रगतिलाई द्रूत गति दिनसमेत सहयोग पुग्ने बताए ।

यी खोपहरू नेपालमा सन् २०२२ को मार्च महिनासम्म आइपुग्ने अपेक्षा गरिएको छ । यसले नेपालका ७२ प्रतिशत जनसंख्याका साथसाथै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र किशोरकिशोरीलाई खोप दिलाउने नेपालको लक्ष्य हासिल गर्नमा उल्लेख्य रूपले सघाउनेछ ।

माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले कोभ्याक्स सुविधामार्फत् कोरोना विरूद्धको सुरक्षित र प्रभावकारी खोपहरू खरिद गर्नका लागि लगानी गरी विकासमा साझेदारसँगै नेपाली जनता र नेपाल सरकारलाई सहयोग गर्न पाउँदा गौरवान्वित भएको बताए ।

नेपाल सरकारको महामारीविरूद्धको स्वास्थ्य प्रतीकार्यका लागि विश्व बैंकले १० करोड ४० लाख डलर उपलब्ध गराइसकेको छ ।

अघिल्लो महिनामा विश्व बैंकका तर्फबाट एक हजार थान अक्सिजन कन्सन्ट्रेटरहरू र सातवटा अक्सिजन जेनेरेटर प्लान्टहरू ल्याइएको थियो, जुन सातै वटा प्रदेशमा स्थापना गरिँदै छ ।

Leave A Reply

Your email address will not be published.