अमेरिकाद्वारा ऐतिहासिक परमाणु सम्झौतालाई पुनर्जीवन दिन इरानलाई वार्तामा फर्कन आह्वान

0

एजेन्सी : अमेरिकाले इरानका नयाँ राष्ट्रपतिलाई ऐतिहासिक परमाणु सम्झौतालाई पुनर्जीवन दिनका लागि वार्तामा फर्कन आह्वान गरेको छ । इरानी राष्ट्रपति इब्राहिम रइसीले देशमाथि लागेका प्रतिबन्ध अन्त्यका लागि गरिने कूटनीतिक पहललाई समर्थन गर्ने घोषणा गरेपछि अमेरिकाको पछिल्लो भनाइ आएको हो ।

तर अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले कूटनीतिक मार्ग सधैँ खुला नरहने चेतावनी पनि दिएका छन् ।

रइसीले इरानको राष्ट्रपतिका रूपमा बिहीवार शपथग्रहण गरेका छन् । रइसी इरानका सर्वोच्च नेता अयोतोल्ला खमेनीका निकट मानिन्छन । शपथग्रहण समारोहमा उनले इरानमाथिका प्रतिबन्धहरू अन्त्य गर्ने कूटनीतिक योजनालाई आफूले समर्थन गर्ने बताएका थिए ।

अमेरिकाद्वारा इरानी राज्यमाथि लगाइएका सबै अवैध प्रतिबन्धहरू हट्नै पर्ने उनको भनाइ थियो ।

अमेरिकाले परमाणु सम्झौताबाट अलग्याउँदै इरानमाथि पुराना प्रतिबन्धहरू पुनः लगाएपछि दुई देशबीच तनाव थप चुलिएको छ ।

अमेरिका लगायतका देशहरुले इरानमाथि परमाणु हतियार बनाउन लागिरहेको आरोप लगाउदै आएका छन । इरानले भने त्यसलाई अस्वीकार गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.