खोप लगाउने प्रतिव्यक्तिलाई सय डलर दिन राष्ट्रपति बाइडेनको आह्वान

0

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना संक्रमण नियन्त्रणका लागि नयाँ नियम घोषणा गरेका छन् । खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्नका निम्ति खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति एक सय डलर रकम दिन समेत उनले आह्वान गरेका छन् ।

सो रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गत रहेको १ दशमलब ९ ट्रिलियनको कोषबाट प्रयोग गर्न सक्ने बताइएको छ ।

बाइडेनले संघीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन जारी गरेका छन् । बाइडेनले खोप लगाउन कामदारलाई समय दिने साना र मझौला व्यवसायमा त्यसबाट पुगेको आर्थिक क्षतिको संघीय सरकारले परिपूर्ति गरिदिने बताए ।

उनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ । अनिवार्य परीक्षणको सामना गर्नुका साथै मास्क लगाउन तयार समेत हुनुपर्नेछ ।

हालसम्म अमेरिकामा आधा जनसंख्याले मात्र खोपको पूरा मात्रा लिएका छन् । बाइडेनले बढी संक्रामक डेल्टा भेरिएन्टका कारण नयाँ प्रतिबन्धहरू लगाउनु परेको बताए । सो भेरिएन्टले खोप नलगाएकाहरूमा महामारी निम्त्याएको उनको भनाइ छ ।

एउटा अध्ययनले अमेरिकामा ९९ प्रतिशत कोभिडसम्बन्धी मृत्यु खोप नलगाएका व्यक्तिमा देखाएको छ । अमेरिकामा प्रतिहप्ता करिब दुई हजार व्यक्तिको कोरोनाका कारण मृत्यु भैरहेको छ । दैनिक संक्रमण दर पनि ६० हजारसम्म पुगेको छ ।

Leave A Reply

Your email address will not be published.