बाघको बासस्थान सुरक्षित राख्न विशेष ध्यान दिनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थान सुरक्षित राख्न विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

विश्व बाघ दिवसका अवसरमा ललितपुरमा बिहीबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बाघको बासस्थानको सुरक्षा, चोरी निकासी, गैरकानूनी व्यापार नियन्त्रणका लागि ध्यान दिनुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले वन्यजन्तु मैत्री पूर्वाधार निमार्णमा सरकार प्रतिबद्ध रहेको धारणा पनि राखे । त्यस्तै उनले विश्वका विभिन्न देशबाट बाघ हेर्न मानिसहरू आउने भएकाले पर्यटन प्रवर्द्धनमा पनि बाघको महत्वपूर्ण भूमिका रहेको बताए ।

बाघलाई संरक्षण गर्न सके नेपालमा पर्यटक वृद्धि हुने र स्थानीयले रोजगारसमेत पाउने प्रधानमन्त्री देउवाकोे भनाइ छ ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काबिल सहयोगी चुन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिए । नेपालले आफू प्रधानमन्त्री रहँदा प्रतिबद्ध टिम भएकाले प्रकृति संरक्षणको क्षेत्रमा गौरव गर्न लायक काम भएको भन्दै देउवालाई पनि काबिल सहयोद्धा चयन गर्न सुुझाव दिए । नेता नेपालले राप्रपाका नेता दीपक बोहोराजस्तो प्रतिबद्ध मन्त्री नभएको भए आफूले गौरव गर्न लायक काम गर्न नसक्ने बताए ।

त्यस्तै पूर्वमन्त्री दीपक बोहोराले नेपालको बाघ संरक्षणका लागि यसअघि भएका प्रयासहरुलाई निरन्तरता दिनुपर्ने बताए । उनले सन् २०२२ सम्म बाघको संख्या बढाउने लक्ष्यलाई पुरा गर्नका लागि वन्यजन्तु मैत्री पूर्वाधार गर्नुपर्ने धारणा राखे ।

‘बाघको अस्तित्व : मानवको दायित्व’ भन्ने सन्देशका साथ बिहीबार बाघ दिवस मनाइको हो ।  नेपालले सन् २०१० लाई आधार वर्ष मानेर सन् २०२२ सम्ममा बाघको संख्या १ सय २१ बाट बढाएर २ सय ५० पुर्‍याउने लक्ष्य राखेकोमा अहिले बाघको संख्या २ सय ३५ पुगिसकेको छ । नेपालसहित विश्वका १३ देशमा मात्रै बाघ पाइन्छ ।

Leave A Reply

Your email address will not be published.