आजदेखि काठमाडौं उपत्यकामा ५० वर्षमाथिकालाई भेरोसेल खोप लगाइने

0

काठमाडौं : काठमाडौं उपत्यकाका तीनै जिल्लामा बिहीबार पहिलो मात्राको चिनियाँ खोप भेरोसेल अभियान शुरु हुँदै छ ।

काठमाडौं, भक्तपुर तथा ललितपुर जिल्लामा ५० वर्षभन्दा माथिका र यसअघि छुटेकालाई खोप दिन लागिएको हो । खोप दिने स्थानको व्यवस्थापन स्थानीय तहले गरेका छन् ।

काठमाडौं महानगरपालिका ३२ वटै वडामा खोप केन्द्र राखिएको छ । अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा पाँचवटा अस्पताललाई खोप केन्द्र तोकिएको छ । जसमा राधास्वामी आइसोलेसन सेन्टर सामाखुशी, वीर अस्पताल काठमाडौं, निजामती अस्पताल नयाँ बानेश्वर, टिचिङ अस्पताल महाराजगञ्ज तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु छन् ।

यस्तै, फरक क्षमताका व्यक्तिहरुले पहिलो मात्राको भेरोसेल खोप नजिकका खोप केन्द्र वा पायक पर्ने स्थानमा गएर लगाउन बताइएको छ ।

नेपालमा हालसम्म ३५ लाख ४४ हजार जनाले कम्तीमा एक मात्रा खोप पाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पूर्ण मात्रा खोप लगाउनेको संख्या १५ लाख नाघेको छ ।

अहिलेसम्म ८८ लाख ८२ हजार मात्रा खोप प्राप्त भएकोमा ५० लाख ४७ हजार मात्रा प्रयोग भइसकेको छ । अहिलेसम्म नेपालमा कोभिशील्ड, भेरोसेल र जोनसन एन्ड जोनसन खोप मात्र नेपाल आएका छन् ।

Leave A Reply

Your email address will not be published.