राष्ट्रपतिद्वारा युद्ध सङ्ग्रहालयको उद्घाटन

0

सिन्धुलीगढी : राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिकस्थल सिन्धुलीगढी नेपाली शूरता र वीरताको परिचय भएको बताएकी छन् । 

नेपालकै पहिलो सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको बुधबार उद्घाटन गर्दै उनले सङ्ग्रहालयलाई विश्वसामु चिनाउने काम नेपाली गौरवको विषय हो भनिन् । उनले यसलाई पर्यटकीयस्थलमा विकास गर्न सकिने र पर्यटन प्रवर्द्धनमार्फत आर्थिक लाभ लिन सकिने बताइन् । 

नागरिक र सैनिक सम्बन्धको उत्कृष्ट नमूनाका रुपमा सङ्ग्रहालय रहेको जनाउँदै राष्ट्रपतिले अनुसन्धानकर्ता, विद्यार्थी एवं स्वदेशी र विदेशी पर्यटकका लागि गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने बताइन् । एकीकरणका घटना र विषयलाई पाठ्यक्रममा समावेश गरी राष्ट्रिय एकता प्रवर्द्धन गरिनुपर्नेमा राष्ट्रपतिको जोड थियो । 

सो अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको स्वतन्त्रता र स्वाधीनताको रक्षामा महत्वपूर्णस्थलका रुपमा सिन्धुलीगढी रहेको बताए । उनले सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय स्थापना गौरवपूर्ण इतिहास जोगाउने महत्वपूर्ण कार्य भएको बताउँदै यसले राष्ट्रिय एकता र सुरक्षामा सहयोग पुग्नेछ भने । सरकारले यस्ता सङ्ग्रहालय निर्माणलाई नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ समावेश गर्ने उनले बताए । 

Leave A Reply

Your email address will not be published.