गुरुहरुको सम्मानमा आज गुरु पूर्णिमा पर्व मनाइँदै

0

काठमाडौं : गुरुजनप्रति सम्मान भाव प्रकट गरी आज गुरु पूर्णिमा पर्व मनाइँदैछ । आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरु प्रति सम्मान प्रकट गर्दै यो पर्व मनाउने गरिन्छ ।

गुरु पूर्णिमाका अवसरमा विभिन्न विद्यालय एवम् सङ्घ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गर्दछन् ।

यस वर्ष गुरुपूर्णिमा कोरोनाको जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मनाइँदैछ ।

कतिपय विद्यालय एवं संस्थाले जुम प्रविधिका माध्यमबाट गुरुपूर्णिमा र व्यास जयन्तीका कार्यक्रम मनाउन लागिएको जनाइएको छ । यो वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सार्वजनिक कार्यक्रम कमै गरिए पनि मानसिकरुपमा श्रद्धाभाव प्रकट गरिने जनाइएको छ ।

यसै दिन वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ ।

आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.