महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने कांग्रेसको तयारी

0

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी गरेको छ । 

बुढानिलकण्ठस्थित प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समिति र क्रियाशील सदस्यता छानविन समितिका संयोजकले प्रारम्भिक प्रतिवेदन पेश गरेका थिए ।

दुवै प्रतिवेदनमाथि छलफलपश्चात शनिबार पुनः बस्ने पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका हेरफेर गर्ने सम्बन्धमा आवश्यक निणर्य लिन सक्ने उनले बताए ।

प्रवक्ता शर्माले सहमतिबाटै महाधिवेशनको अन्य कार्यतालिकाका बारेमा आवश्यक निर्णय गर्ने जिकिर गरे ।

कांग्रेसले क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि गत असार ३० गतेभित्र तोकेको थियो ।

केही जिल्लाको विवादका कारण उक्त कार्य अहिलेसम्म सम्पन्न हुन नसकेकाले पनि महाधिवेशन तालिका प्रभावित हुने निश्चित छ ।

कांग्रेसको गत असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.