साइबर आक्रमण रोक्न अमेरिकाले ‘हरेक प्रकारका कार्य’ गर्छ : बाइडेन

0

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको छ । करिब एक घण्टा लामो वार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले साइबर आक्रमणलाई लिएर अमेरिका गम्भीर रहेको बताएका छन् ।

उनले रुसबाट हुने साइबर आक्रमण रोक्नका लागि आवश्यक पर्ने हरेक प्रकारका कार्य गर्न अमेरिका तयार रहेको रुसी राष्ट्रपति पुटिनलाई बताएको ह्वाइट हाउसले जनाएको छ ।

टेलिफोन वार्तापछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै राष्ट्रपति बाइडेनले रुसले साइबर आक्रमणको मूल्य चुकाउनुपर्ने बताएका छन् ।

गत महिना भएको साइबर आक्रमणको सम्बन्ध रुससँग रहेको अमेरिकाले बताउँदै आएको छ । त्यसअघिका साइबर आक्रमणमा पनि रुसी साथ पाएका समूहहरु संलग्न रहेको अमेरिकाले आरोप लगाउने गरेको छ । तर रुसले भने साइबर आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।

वार्ताका क्रममा रुसी राष्ट्रपति पुटिनले साइबर आक्रमणका बारेमा जानकारी लिन वा त्यससँग जोडिएर अमेरिकाले अहिलेसम्म सम्पर्क नगरेको बताएका थिए । आफूहरु आपराधिक गतिविधि नियन्त्रणका लागि सूचना साझा गर्न तयार रहे पनि पछिल्लो महिना यता अमेरिकाले सम्पर्क नगरेको उनको दाबी थियो ।

तर रुससँग साइबर आक्रमणलाई लिएर धेरैपटक जानकारी माग गरिए पनि प्राप्त नभएको एक उच्च अमेरिकी अधिकारीले समाचार संस्था एएफपीलाई जानकारी दिएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.