मुलुकमा भएको विकासलाई कसैले नकार्न सक्दैन : प्रधानमन्त्री ओली

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा भएको विकासलाई कसैले नकार्न नसक्ने बताएका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) आयोजित पुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकको सात दशकयता विभिन्न क्षेत्रमा भएको विकासलाई कसैले नकार्न नसक्ने बताएका हुन् ।

सामाजिक न्यायका सवाल देखि शिक्षा क्षेत्रमा भएका उपलव्धीलाई कसैले बिर्सन नहुने उनको भनाइ छ । त्यस्तै उनले आफुले मृगौला प्रत्यारोपण नेपालमा नै गरेको भन्दै स्वास्थ्य क्षेत्रले पनि निकै फड्को मारेको धारणा राखे ।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नेपाल सबै क्षेत्रमा अगाडि बढ्न आवश्यक रहेको जिकिर गरे ।

उनले खोज र अनुसन्धानको क्षेत्रमा केही नयाँ नयाँ अनुसन्धान गर्न नेपाली बैज्ञानिकहरुलाई आग्रह गरे । उन्नत प्रविधिको प्रयोग गरेर उत्पादन बढाउन आवश्यक रहेको भन्दै त्यो क्षेत्रमा अनुसन्धान गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले विज्ञान प्रविधिको प्रयोग नगरेसम्म मुलुकको बिकास र समृद्धि पूरा नहुने बताए ।

कार्यक्रममा प्रधानमन्त्री एवं नाष्टका कूलपति ओलीले नाष्टबाट प्रदान गरिएका विभिन्न विज्ञान तथा प्रविधि पुरस्कारबाट बैज्ञानिकहरुलाई पुरस्कृत गरेका थिए ।

यस वर्षको प्रकृति संरक्षण पुरस्कार विश्व वन्यजन्तु कोष नेपाललाई, कुलपति राष्ट्रिय नव प्रवर्द्धन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई, विज्ञान पुरस्कार डा उत्तम बाबु श्रेष्ठलाइ प्रदान गरिएको थियो ।

त्यस्तै प्रविधि पुरस्कार डा शेर बहादुर पुनलाई, विज्ञान तथा प्रविधि महिला पुरस्कार डा रेश्मा तुलाधरलाई, विज्ञान शिक्षक पुरस्कार नातीकाजी मर्हजन प्रदान गरिएको थियो । त्यस्तै विज्ञान तथा प्रविधिका क्षेत्रमा लामो योगदान गुराएका विभिन्न बैज्ञानिकलाई पनि सम्मान गरिएको थियो । 

Leave A Reply

Your email address will not be published.