जसपा विवाद : ठाकुर र उपेन्द्र पक्षबीच सहमतिको सम्भावना अन्त्य !

0

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच सहमतिको सम्भावना अन्त्य भएको छ । यो संगै अब निर्वाचन आयोगले एउटा पक्षलाई आधिकारिकता दिनुपर्नेछ । जसका लागि आयोगले इजलास गठन गर्ने भएको छ ।

उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार पार्टीको आधिकारिकता विवाद टुंग्याउन निवेदन दिएपछि आयोगले मंगलवार दुबै पक्षलाई बोलाएको थियो । तर मंगलबारको छलफलका क्रममा दुबै पक्षले आफ्नो दावी नछाडेपछि छलफल निष्कर्षबिहीन भएको थियो । छलफलपछि महन्थ पक्षका नेता अनिल झाले अध्यक्ष उपेन्द्र यादवले आफूहरू मिलेर जान नसक्ने बताएको जानकारी दिए ।

त्यस्तै उपेन्द्र यादव पक्षका नेता महेन्द्र राय यादवले एकताको सम्भावना तत्काल नरहेको बताए । तत्काल मिल्ने सम्भावना नभएकोले आयोगलाई आफ्नो प्रक्रिया अगाडि बढाउन भनेको उनले बताए ।

जसपाको विवाद नमिलेपछि आयोगले वैधानिकताबारे निणर्य गर्न इजलास गठन गर्ने जनाएको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ५ मा ‘विवादका पक्षहरू उपस्थित भई विवाद निरुपण गर्न सहमत भएमा आयोगले पक्षहरूबीच भएको सहमति बमोजिम विवाद निरुपण गर्ने’ उल्लेख छ । छलफलमा दुवै पक्ष सहमत नभएकोले अब राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ६ अनुसारको प्रक्रिया सुरू हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

निर्वाचन आयोगमा उपेन्द्र पक्षबाट उपेन्द्र यादव, महेन्द्र राय, राजेन्द्र श्रेष्ठ, प्रकाश अधिकारी र मृगेन्द्र सिंह उपस्थित थिए भने महन्थ पक्षबाट महन्थ ठाकुर, राजेन्द्र महतो, शरद सिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, केशव झा र सुरेन्द्र झा उपस्थित भएका थिए ।

Leave A Reply

Your email address will not be published.